शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

सन् २०२३ सम्म विश्व आर्थिक वृद्धिदर सुस्त हुने

विकासशील अर्थतन्त्रमा ‘हार्ड ल्यान्डिङ’ को जोखिम

काठमाडौँ– विश्व बैंकले सन् २०२३ सम्म विश्वको आर्थिक वृद्धिदर सुस्त हुने प्रक्षेपण गरेको छ । कोभिड–१९ का विभिन्न भेरियन्टहरू फैलनु, मुद्रास्फिति उच्च हुनु, उच्च सार्वजनिक ऋण र असमानताका कारण अनिश्चितता बढेको विश्व बैंकको भनाइ छ । 

विश्व बैंकको पछिल्लो प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’मा सन् २०२१ मा कोभिड–१९ विरुद्धको खोपको आपूर्तिसँगै आर्थिक क्रियाकलापमा विस्तार भएपनि पुनः कोभिड–१९ का नयाँ भेरियन्टहरू  फैलनु, मुद्रास्फित उच्च रहनु, आय असमानतामा वृद्धि लगायतका कारणले विकासशील अर्थतन्त्रहरूको पुनरुत्थान पुनः संकटमा परेको उल्लेख छ । विश्वको आर्थिक वृद्धिदर सन् २०२१ मा ५.५ प्रतिशत रहेकोमा सन् २०२२ मा ४.१ प्रतिशत र सन् २०२३ मा ३.२ प्रतिशत रहने अनुमान छ । मागमा कमी र मौद्रिक तथा बजेटरी सहयोगको अभावमा यो स्थिति सिर्जना हुने विश्व बैंकले उल्लेख गरेको छ । 

ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै यसले निकट भविष्यमा अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने क्रमले निरन्तरता पाउने भन्दै विश्व बैंकले प्रमुख अर्थतन्त्रहरू अमेरिका र चीनले समेत खस्कदों आर्थिक स्थितिको सामना गर्नुपर्ने बताएको छ । उदयमान र विकासशील अर्थतन्त्रमा मागमा कमी तथा सरकारहरूसँग कोभिड–१९लाई सम्बोधन गर्ने पर्याप्त नीतिगत आधार कमजोर भएकोले आपूर्ति श्रृंखलामा अवरोध र मुद्रास्फितिको चाप व्यहोर्नुपर्नेहुन्छ । जसका कारण वित्तीय असुरक्षा बढेर गएको छ र अर्थतन्त्रहरूमा ‘हार्ड ल्यान्डिङ’ जोखिम रहेको बताइएको छ । 

‘कोभिड–१९ महामारीको निरन्तर प्रभाव, मुद्रास्फिति, नीतिगत अनिश्चितता, सरकारको खर्च र मौद्रिक नीति यसअघि कहिल्यै अभ्यास नगरिएको क्षेत्रतर्फ मुखरित भएका छन् । बढ्दो असमानता र सुरक्षा चुनौती विकासशील अर्थतन्त्रका लागि हानिकारक छन्,’ विश्व बैंकका अध्यक्ष डेभिड माल्पसले भनेका छन् । 

यो अवस्थाबाट मुक्तिका लागि उनले अन्तर्राष्ट्रिय समुदायबाट संगठित/एकतावद्ध पहल आवश्यक रहेको भन्दै राष्ट्रिय रूपमा वृहद् नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन् ।