बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

कोभिडका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

वासिङटन - अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोभिड सङ्क्रमितहरू निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्तामा अमेरिकामा कोभिड बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोभिडका घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरू बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोभिड सङ्क्रमितहरू दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरू पनि बन्द भएका बताइएको छ । कोभिड कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् ।