सन् २०२१ का १० घटना : जलवायुदेखि कोभिड हुँदै ओलम्पिकसम्म

ग्रेगोरियन क्यालेन्डरको सन् २०२१ सकिएको छ । सन् २०२१ ले सन् २०२० को भन्दा केही कम पीडा दियो । अनि पछिल्ला १२ महिनामा केही सकारात्मक खबर पनि सुन्न पाइयो । हो, कोभिड–१९ महामारीको प्रभावले बिदा लिएन तर यसविरुद्ध लड्न विश्व अघिल्लो वर्षको भन्दा तुलनात्मक रूपमा बलियो देखियो । अनि केही खराब खबर पनि दियो, सन् २०२१ ले । वर्षभरिका ठूल्ठूला केही घटनामध्ये १० लाई सर्वाधिक चासो वा महत्वको घटनाका रूपमा यहाँ प्रस्तुत गरिएको छ :
१. जलवायु परिवर्तनविरुद्धको लडाइँमा चुकेको विश्व
अगस्ट, २०२१ मा संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गर्यो । चार हजार पृष्ठको सो रिपार्टको आशय यही थियो, कार्बन उत्सर्जन बढ्दै जाँदा विश्व खतरामा परेको छ । हुन त संयुक्त राष्ट्रसंघको रिपार्ट नपढेकाहरू पनि यो तथ्यसँग जानकार हुनैपर्ने हो । तर विश्वका ठूला औद्योगिक मुलुकहरू यो तथ्यप्रति कति गम्भीर छन् ? यसको लेखाजोखा वातावरणविद्हरूले गरेकै छन् ।
सन् २०२१ मा जलवायु परिवर्तनले निम्त्याएका संकट मुख्य मुद्दाका रूपमा देखापरिह्यो । किनभने जलवायु परिवर्तनकै साइड इफेक्ट भनिएका प्राकृतिक प्रकोपले धेरै मुलुकलाई दुःख दियो । विश्व राजनीतिको प्रमुख नेता अमेरिका किन बच्थ्यो र ! अमेरिकाको दक्षिणपूर्वी भू–भागलाई अकस्मातको बाढीले सतायो । यो रोग युरोपमा पनि देखापर्यो । जर्मनी, बेल्जियमजस्ता देशमा हजारौँ नागरिक हप्तौँसम्म बेघर भए । एसियामा मनसुनको वर्षाले नेपाल र भारतलाई पनि अत्यधिक असर गर्यो । ग्रिसमा डढेलोले ठूलो क्षति गर्यो।
जलवायु परिवर्तनले ल्याएको वा ल्याउन सक्ने असरबारे स्कटल्यान्डको ग्लाग्सोमा विमर्श भयो । कोप–२६ नाम दिइएको सो सम्मेलनमा उपस्थित सबै देशले आ–आफ्नो हिसाबले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जाहेर गरे । तर प्रतिबद्धता जाहेर गर्नु नतिजा दिनु होइन । यसो भन्नुको कारण, सन् २०२१ मा बढेको कार्बन उत्सर्जनको मात्रा हो । फेरि कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्र केही हदसम्म तंग्रेकाले पनि यस्तो भएको हो । कार्बन उत्सर्जन आगामी वर्ष वा सन् २०२२ मा झनै बढ्नेछ । त्यसैले भनिएको हो, जलवायु परिवर्तनसँग जुध्न विश्व चुकिरहेको छ ।
२. कोभिड–१९ विरुद्धको खोप
सन् २०२१ मा कोभिड–१९ विरुद्धको खोप विकास र उत्पादन गर्ने दौड चल्यो । यसमा कोही सफल भए, कोही असफल । अनि कतिपयले विकास र उत्पादन गरेको खोपको विश्वसनीयतामाथि नै प्रश्न उठाइयो । जे होस्, जुन रफ्तारमा खोप विकास र उत्पादनमा काम भयो, यो आफैँमा असाधारण थियो । विगतमा कुनै पनि भाइरसविरुद्धको खोप विकास गर्न साधारणतया दसदेखि पन्ध्र वर्ष लाग्ने गरेको थियो । तर कोभिडविरुद्धको खोप एक वर्षभन्दा कम समयमा विकास गरियो ।
सन् २०२१ को सुरुवाती ११ महिनाभित्र विश्वभरमा करिब सात अर्ब ४० करोड डोज खोप लगाइसकिएको छ । करिब १८४ देशमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ भने र तीमध्ये ७० देशले विश्वभरका लागि खोप दान गरेका छन् । हुन त अझै पनि सबैतिर खोप पुगिसकेको छैन । कतिपय ठाउँमा मानिसले खोपलाई विश्वास गरिहालेका छैनन् । फेरि कोभिडको नयाँ भेरियन्टहरूले विश्वका धेरै देशलाई दुःख दिइरहेका छन् । पछिल्लो समय ओमिक्रोनले विश्वलाई आक्रान्त बनाएको छ । र सन् २०२१ सकिँदै गर्दा ओमिक्रोनको प्रभाव कुन हदसम्मको हुन्छ भनेर अनुमान लगाउन सकिएको छैन । तर जे होस् खोपको विकासले मानिसमा कोभिडविरुद्ध लड्ने आत्मविश्वास भने सिर्जना भएको छ ।
३. अमेरिकामा नयाँ राष्ट्रपति
सन् २०२१ मा अमेरिकाले नयाँ राष्ट्रपति पायो । डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्दा जो बाइडन भित्रिए । जसले पटकपटक भनेका छन्, विश्व राजनीतिक मञ्चमा अमेरिकाको बलियो पुनरागमन भएको छ । राष्ट्रपति भइसकेपछि उनले आफ्ना मित्र देशहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिने प्रयास गरेका छन् । उनले अमेरिकालाई जलवायुसम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनमा फर्काएका छन् । अनि इरानसँगको परमाणु सम्बन्धी वार्तालाई फेरि सुरु गर्न तादरुकता देखाएका छन् । बाइडन नेतृत्वको अमेरिकाले अरब क्षेत्रको यमनमा भइरहेका युद्धबाट हात झिकेको छ । अझ योभन्दा महत्वपूर्ण निर्णय अफगानिस्तानबाट फौज फर्काउने रह्यो ।
विश्व राजनीतिक मुद्दा र विदेश नीतिमा बाइडन पूर्ववर्ती ट्रम्पभन्दा केही फरक देखिएका छन् । उनले चीनसँग वार्ता जारी राख्ने मनसाय व्यक्त गरेका छन् । यद्यपि कतिपय विषयमा भने उनले चलेका कदमले उति सारो ताली पाउन सकेनन् । जस्तै, बेलायतसँग मिलेर अस्ट्रेलियासँग गरेको रक्षासम्बन्धी नयाँ सम्झौता । यो सम्झौता गर्दा अमेरिकाले आफ्नै ‘अलाई’ फ्रान्सको चित्त दुखाएको आरोप लागेको छ । विभिन्न देशका लागि अमेरिकी राजदूत नियुक्त गर्न नसकेको भनेर खप्की पनि सहनु परिरहेको छ, बाइडनले । यीलगायत अन्य कारणले अमेरिकाभित्र बाइडनको लोकप्रियताको ग्राफ घटिरहेको बताइँदै छ । र कतिपयले के पनि अनुमान गर्न थालेका छन् भने अर्को निर्वाचनमा बाइडनलाई ट्रम्पले कडा टक्कर दिनेछन् ।
४. लोकतान्त्रिक व्यवस्थामाथि उठेको प्रश्न
सन् २०२१ मा पनि लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्न छाडेन । राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेका ट्रम्पका समर्थकले देखाएको रवैयाले अमेरिकी व्यवस्थामाथि नै प्रश्न खडा गर्यो । अमेरिकी लोकतान्त्रिक व्यवस्थामै ह्रास आएको टिप्पणी पनि गरियो । उता छिमेकी भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारका क्रियाकलापले पनि लोकतन्त्रबारे नकारात्मकता बढाएको बताइने गरिएको छ । ‘रिपोटर्स विदआउट बोर्डर्स’ले त भारतलाई पत्रकारका लागि सबैभन्दा खतरनाक देश भनेको छ । दक्षिण अमेरिकाको ब्राजिलमा पनि लोकतन्त्रमाथि धावा बोलिएको छ ।
त्यहाँका राष्ट्रपति जैर बोलसोनारो लोकतान्त्रिक व्यवस्थाकै प्रयोग गरेर देशको सर्वोच्च पदमा पुगे पनि आफू बसिरहेको घर भत्काउन लागिपरेका छन् । सन् २०२१ मा बर्मा, चाड, माली, सुडान लगायतका देशमा पनि लोकतान्त्रिक सरकारलाई अपदस्थ गरिएको छ ।
सन् २०२१ मा विश्वका कयौँ देशमा रहेका अधिनायकवादी सरकारहरूले आफूलाई थप शक्तिशाली बनाए । रुसमा भ्लादिमिर पुटिनलाई चुनौती दिने विपक्षीहरूलाई जेल हाल्ने क्रम जारी छ । रुसको छिमेकी बेलारुसमा अलेक्जेन्डर लुकासेन्कोले लोकतन्त्रवादीहरूको आन्दोलनलाई दबाएका छन् । चीनले हङकङमाथि पकड बलियो बनाएको छ । क्युबामा भएको आन्दोलनमा हजारौँ नागरिकलाई गिरफ्तार गरियो ।
विश्वका कयौँ भागमा लोकतन्त्रविरुद्ध धावा बोलिँदा अमेरिकाले आफूलाई केही हदसम्म सक्रिय बनाएको छ । आफूलाई लोकतन्त्रको च्याम्पियन मान्ने अमेरिकाले वर्षको उत्तर्राद्धमा ‘डेमोक्रेसी समिट’को आयोजना गर्यो । भर्चुअल माध्यमबाट गरिएको सम्मेलनको उदेश्य थियो, विश्वमा लोकतान्त्रिक व्यवस्थालाई सँगालेर लैजान अमेरिका तयार छ । तर यो सम्मेलनले कस्तो सन्देश दिएको छ वा यसले दिएको सन्देश सुनिएको छ वा छैन भन्ने प्रस्ट छैन ।
५. गृह युद्धमा फसेको इथियोपिया
अफ्रिकाको १० औँ ठूलो देश हो, इथियोपिया । र यसका राष्ट्रपति हुन्, एबी एहमद । जसले सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । नोबेल शान्ति पुरस्कार पाएको दुई वर्षपछि एहमद आफ्नो देशमा सुरु भएको गृहयुद्धको नेतृत्व गरिरहेका छन् । उनी नेतृत्वको इथियोपियाली केन्द्रीय सरकारी फौज टिगराय प्रान्तको टीपीएलएफ नाम गरेको एक राजनीतिक तथा सशस्त्र समूहसँग युद्ध लडिरहेको छ । कुनै बेला टीपीएलएफ इथियोपियाको केन्द्रीय सत्तामा थियो । तर एहमद सत्तामा पुगेपछि टीपीएलएफ किनारा लाग्यो ।
राजनीतिक द्वन्द्व युद्धमा परिणत भएपछि इथियोपिया गृहयुद्धमा फसेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इथियोपियाको केन्द्रीय फौजले टीपीएलएफविरुद्धको लडाइँ सजिलै जित्नेवाला छैन । बरु टीपीएलएफले जिुबटीबाट इथियोपियाको राजधानी एडिस अब्बातर्फको ‘सप्लाई रुट’ बन्द गरिदिने धम्की दिएको छ । र त्यही योजनामा अघि बढिरहेको छ ।
अहमद र टीपीएलएफबीचको टकराव तथा जारी युद्धलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गरिरहेको छ । तर यस्तो प्रयासले सफलता पाउन सकिरहेको छैन । करिब २० लाख नागरिकलाई बेघर बनाइसकेको यो युद्धले इथियोपियामा रहेको जातीय द्वन्द्वलाई बढावा दिने बताइएको छ । किनभने एहमद र टिगरायबीचको द्वन्द्वको मूल जरो जातीयतासँग जोडिएको छ ।
६. काबुल फर्किएको तालिबान
अफगानिस्तानमा बीस वर्षे युद्ध सकिनासाथ तालिबान काबुल फर्कियो । सन् २०२० मै तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले तालिबानसँग समझदारी गरेका थिए, जसअनुसार मे, २०२१ सम्ममा सबै अमेरिकी फौज घर फर्कनुपर्ने थियो । अमेरिकामा राष्ट्रपति फेरिए, तर तालिबानसँगको समझदारीलाई धोका दिइएन ।
केही ढिलो गरी अमेरिकाले अफगानिस्तानबाट आफ्नो फौज फर्कायो । सेप्टेम्बर ११ मा अमेरिकी फोजले पूर्णरूपमा अफगानिस्तान छाड्यो । यसअघि नै काुबल तालिबानको कब्जामा परिसकेको थियो । अगस्ट १५ मा तालिबानका लडाकु काबुल सहरको गल्ली गल्लीमा थिए । तालिबानले अमेरिकालाई अगस्ट ३१ सम्ममा आफ्ना नागरिक अफगानिस्तानबाट लग्न समयसीमा तोकेको थियो । अमेरिकीसँगै करिब तीन लाख अफगानीले पनि अफगानिस्तान छाडे । आफ्नो देश छाड्न प्रयास गरेका अफगानी नागरिकका तस्बिरहरूले विदेशी अखबारहरूमा स्थान पाइरहे ।
अमेरिकी राष्ट्रपतिले अफगानिस्तान युद्ध सफलतापूर्वक सम्पन्न भएको त भन्न सकेनन् तर त्यहाँबाट आफ्ना फौज र नागरिकलाई घर फर्काउन आफू सफल भएको भने भन्न भ्याए । दुई दशक लामो युद्धमा अमेरिकाले करिब साढे दुई खर्ब अमेरिकी डलर खर्च गरेको बताइएको छ । युद्धमा अमेरिकी फौजको २५ सयभन्दा बढी सदस्यले ज्यान गुमाए । थप चार हजार अमेरिकी अफगानिस्तानमा तालिबानको शिकार बने । तीमध्ये धेरैजसो भाडाका सैनिक थिए भनिन्छ । उता मृत्य हुने अफगानी नागरिकको संख्या भने एक लाख ७० हजार नाघेको तथ्यांक प्रस्तुत गरिएको छ ।
७. थाकेको ‘सप्लाई चेन’
‘सप्लाई चेन’ अंग्रेजी शब्द भए पनि सन् २०२१ मा विश्वभर यसको प्रयोग भयो । यसको कारण कोभिड–१९ सँग जोडिएको छ । कोभिडका कारण चीन लगायतका देशमा कारखाना बन्द भए । जसले गर्दा औषधीदेखि लत्ता कपडासम्मको उपलब्धतामा ह्रास आयो । विश्वभर हरेक वस्तुको अभाव सिर्जना भयो । त्यसैले भनियो, सप्लाई चेनमा असर पर्यो ।
फेरि मार्च महिनामा सुइज नहरमा एक पानी जहाज अड्किएपछि सप्लाई चेनमाथि थप असर पर्यो । सन् २०२१ मै ‘सेमिकन्डक्टर चिप्स’को अभाव सिर्जना भयो । गाडीदेखि कम्प्युटरसम्मको उत्पादनमा नभई नहुने चिप्सको अभावले मोबाइल फोन, कार लगायतको उत्पादनमा पनि कमी आयो । सन् २०२१ मा अमेरिका लगायतका देशमा कामदारको समेत अभाव भयो । कोभिड महामारीका कारण अमेरिकामा मात्रै ५० लाख कामदारको अभाव भएको खबर आयो । जे होस्, कोभिडका कारण सप्लाई चेनमा असर पर्दा विश्वभर नै मोबाइल फोन, ल्यापटप लगायतका साधनको मूल्य वृद्धि भयो ।
८. चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष
जुलाई, २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी एक सयौँ वर्ष पुग्यो । सन् १९४९ देखि चीनमा सत्ता सञ्चालन गरिरहेको यो पार्टीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ थप बलियो बने । पार्टी र देशको सर्वमान्य सर्वोच्च नेताका रूपमा स्थापित भएका सीले आउँदा वर्षमा चीनलाई कसरी अघि बढाउँछन् भन्ने कुराले पनि विश्वको राजनीति कतातिर मोडिन्छ भन्ने निर्क्यौल गर्नेछ ।
चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष पुगेको अवसरमा तियानमेन स्काएरमा ठूलो र्याली आयोजना गरिएको थियो । जहाँ सीसहित ७० हजार चिनियाँ उपस्थित भएका थिए । जुलाई १ मा राष्ट्रको नाममा सम्बोधन गरेका सीले अब चीनलाई कुनै पनि शक्तिले हेप्न नसक्ने बताए । चीन विश्वकै शक्तिशाली देश बनेकाले उसमाथि कसैले पनि आँखा उठाउन नसक्ने सीको दाबी थियो । त्यहीबेला उनले हङकङ र ताइवान नितान्त चीनको भूभाग रहेकाले यस्तो तथ्यमाथि कसैले पनि धावा बोल्न नसक्ने पनि बताएका थिए । सीले चिनियाँ नागरिकको प्रतिव्यक्ति आय सन् २०१० को भन्दा ठ्याक्कै एक सय प्रतिशतले बढेकाले सन्तोक व्यक्त गरेका थिए ।
९. जर्मनीमा अन्त्य भएको मर्केल युग
सन् २०२१ मै जर्मनीले नयाँ चान्सलर पायो । गएको १६ वर्ष जर्मन सत्ता हाकेकी एंगेला मर्केलले बिदा लिएपछि ६३ वर्षीय ओलाफ स्कोल्ज नयाँ चान्सलर बने । मर्केलको पार्टी क्रिस्टियन डेमोक्रेटिक युनियनले निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि स्कोल्ज र उनका साथीहरू सत्तामा पुगे । स्कोल्जको सोसियल डेमोक्र्याट्स जर्मनीकै सबैभन्दा ठूलो पार्टीका रूपमा उदायो । मर्केलले आफू सन् २०२१ पछि कुनै पनि पदमा नबस्ने बताएपछि कुनै बेला उनी नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री रहेका स्कोल्ज जर्मनीको नयाँ चान्सलर बने ।
१०. ओलम्पिक
जापानको राजधानी टोकियोले सन् २०२० मै विश्व खेलकुदको महाकुम्भ आयोजना गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण ओलम्पिक एक वर्ष ढिलो गरी आयोजना गरियो । जुलाई २३ मा उद्घाटन गरिएको ओलम्पिकमा विश्वभर रहेका शरणार्थीहरूको टिमसहित दुई सय ६ टिमले भाग लिए । यो ओलम्पिकमा ११ हजार ६ सय ५६ खेलाडीले कुल तीन सय ४० स्वर्ण पदक, तीन सय ३८ रजत पदक र चार सय दुई कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । सर्वाधिक पदक जित्ने टिम वा देश अमेरिका बन्यो । अमेरिकाले एक सय १३ पदक जित्न सफल भयो, जसमा ३९ पदक स्वर्ण थिए । स्वर्ण जित्ने मामलामा अमेरिकालाई कडा टक्कर दिएको चीन कुल पदक संख्यामा भने धेरै पछाडि पर्यो । पदक तालिकामा दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण जित्दा कुल ८८ पदक उसको पोल्टामा पर्यो । स्वर्ण जित्ने दौडमा आयोजक जापान, बेलायत र रुस क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे । (एजेन्सीको सहयोगमा ।)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया