भाले चितुवा खोरमा

तनहुँ - भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर आज बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।
खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार उक्त चितुवा अन्दाजी आठ वर्षको छ । स्थानीयवासी रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । “केही समयदेखि चितुवाले कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको चितुवाको नियन्त्रण प्रयास गरेको थियो, आज बिहानै उक्त खोरमा चितुवा प¥यो”, भुजेलले भने ।
कार्यालयले हालसम्म १३ चितुवाको उद्धार गरेको जनाएको छ । केही वर्षयता तनहुँका विभिन्न भागमा चितुवाको आतंक छ । बस्ती छेउ आएर चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ । साथै घरपालुवा जीवजन्तुमाथि पनि चितुवाको आक्रमण बढ्दो छ । चितुवाको त्रास बढेपछि वन कार्यालयले घरगोठ उज्यालो बनाउन र वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्न अनुरोध गर्दै आएको छ । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।
विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया