काश्मिरमा मानवअधिकारको अवस्थाबारे चिन्ता
काठमाडौँ- प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन भारत प्रशासित काश्मिरमा भारतीय सरकार विरोधी कार्यक्रम तथा र्याली आयोजना गरिन्थ्यो । जहाँ बेपत्ता पारिएको स्थानीय काश्मिरीबारे सोधखोज गरिन्थ्यो । बेपत्ता भएकाहरूको फोटो बोकेर काश्मिरीहरू भेला हुन्थे । तर यसपालि भने काश्मिरमा पहिलेको जस्तो दृश्य देखिएन ।
बेपत्ता पारिएकाहरूका परिवारले डिसेम्बर १० का दिन आ–आफ्नो घरभित्रै शोक मनाए । घर नफर्किएका आ–आफ्ना सन्तान, श्रीमान् लगायतलाई सम्झिए । सार्वजनिक कार्यक्रम गर्ने आँट कसैले गरेन । यसको कारण पछिल्लो समय भारतीय सरकारले गरेको कडाइ हो । उसले काश्मिरमा मानव अधिकारमा वकालत गर्ने, बेपत्ता पारिएकाहरूबारे सोधखोज गर्ने संघ संस्थाहरूलाई सार्वजनिक कार्यक्रम गर्नबाट रोकिरहेको छ ।
गत महिना मात्रै काश्मिरकी मानव अधिकारकर्मी खुरान परवेजलाई गिरफ्तार गरिएको थियो । उनलाई आतंकवाद कानुन अन्तर्गत नियन्त्रणमा लिइएको बताइएको छ । जम्मु–काश्मिर कोएलिएसन अफ सिभिक सोसाइटी (जेकेसीसीएस)सँग आबद्ध परवेजलाई हाल नयाँ दिल्लीस्थित कारागरमा राखिएको छ ।
जेकेसीसीएसले काश्मिरमा रहेको मानव अधिकारको स्थितिबारे प्रश्न गर्ने, सुरक्षा फौजद्वारा बेपत्ता पारिएका स्थानीयबारे सोधखोज गर्ने, बलात्कारर अन्य प्रकारका हिंसाका विषयमा रिपोर्ट प्रकाशन गर्ने गरेको छ । यसैकारण यसका परवेजलाई जेल हालिएको बताइन्छ । परवेज पाँच वर्षभित्र दोस्रो पटक जेल चलान गरिएका हुन् । सन् २०१६ मा पनि उनलाई पक्राउ गरी ७६ दिनसम्म हिरासतमा राखिएको थियो ।
गएको महिना मात्रै भारतको राष्ट्रिय सुरक्षा मामिला सल्लाहकार अजित डोभलले काश्मिरमा रहेका अधिकारकर्मी र तिनका संस्थाले देशको सुरक्षामा खलल पुर्याउने किसिमका क्रियाकलाप गरिरहेको दाबी गरेका थिए । डोभल मात्रै होइन सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)सँग सम्बद्ध नेताहरू काश्मिरी अधिकारकर्मीहरू माथि विभिन्न प्रकारका आरोप लगाइरहन्छन् । ‘काश्मिरका मानव अधिकारकर्मी र तिनका संस्थाको काम त्यहाँ रहेका लडाकु समूहलाई सहयोग गर्नु हो,’ बीजेपीका प्रवक्ता अल्ताफ ठाकुरले अल जजिरासँग भनेका छन् ।
सन् १९९० को दशकबाट काश्मिरमा हुने मानव अधिकार उल्लंघनका घटनाबारे औपचारिक रुपमै रिपोर्ट निकाल्न थालिएको हो । काश्मिरमा भइरहने भिडन्तमा परी हालसम्म ७० हजार भन्दा बढी काश्मिरीले ज्यान गुमाइसकेका छन् । मृतकमध्ये अधिकांश निहत्था काश्मिरी रहेको मानव अधिकारकर्मीहरूको दाबी छ ।
सन् २०१९ मा नरेन्द्र मोदी सरकारले जम्मु–काश्मिरलाई राज्यबाट युनियन टेरिटोरीमा घटुवा गरेपछि त्यहाँ हिंसा थप चर्किएको छ । स्थानीयको विरोध र हिंसा थाम्नका लागि महिनौँसम्म लकडाउन पनि गरियो । अनि काश्मिरका सयौँ राजनीतिकर्मी, मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायीलगायतलाई जेल हालियो । यस्तो कार्य अहिले पनि जारी छ ।
सन् २०१९ मा संयुक्त राष्ट्रसंघले भारत सरकारलाई काश्मिरमा घटेका मानव अधिकार उल्लंघन सम्बन्धि घटनाको छानबिन गर्न स्वतन्त्र कमिटि गठन गर्न भनेको थियो । तर संयुक्त राष्ट्रसंघको सुझाव मान्नको सट्टा भारतीय सरकारले काश्मिरमा थप दमन गरेको त्यहाँका मानव अधिकारकर्मीहरुको आरोप छ । अलजजिराको सहयोगमा

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया