बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

कर्णाली प्रदेश सरकारको बजेट खर्च निरासाजनक

सुर्खेत - विगतका वर्षहरूमा झै यो वर्ष पनि कर्णाली प्रदेश सरकारको बजेट खर्चको अवस्था निरासाजनक देखिएको छ । चालू आर्थिक वर्षको चार महिनाको बजेट खर्चको अवस्थालाई हेर्दा करिब पाँच प्रतिशत बजेट खर्च गरेको छ ।

लेखा नियन्त्रक कार्यालयकाअनुसार  चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म प्रदेश सरकारले ४.८३ प्रतिशत बजेट खर्च गरेको छ । यस अवधिमा  कुल बजेट ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार रुपैयाँमध्ये एक अर्ब ७६ करोड ४४ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । कार्यालयको तथ्यांक अनुसार चालू खर्च ७.५५ प्रतिशत र पुँजीगत खर्च २.९६ प्रतिशत भएको छ ।  प्रदेश सरकारले बजेट कार्यान्वयन अझै सुधार गर्न सकेको छैन् । प्रदेश सरकारको  पुँजीगत खर्च कमजोर छ । अघिल्ला वर्ष जस्तै चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट कार्यान्वयन अवस्था सुस्त देखिएको छ । कर्मचारी अभावलगायतका कारणले सरकारले बजेट खर्च गर्न नसकेको हो ।

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३.१४ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयले कुल १२ अर्ब ३४ करोड ३५ लाख १० हजार बजेटमध्ये ३८ करोड ७१ लाख ५७ हजार  रुपैयाँ खर्च गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुल बजेटको दुई प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चार अर्ब ४९ करोड ८६ लाख ६६ हजार रुपैयाँ बजेटमध्ये आठ करोड, ९८ लाख ४९ हजार बजेट खर्च भएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले १८.८५ प्रतिशत, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सात प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५.४७ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ८.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ९.९१ प्रतिशत, कर्णाली प्रदेश योजना आयोगले ७.४३ प्रतिशत र स्थानीय तहले ५.८९ प्रतिशत बजेट खर्च गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाले दोस्रो र तेस्रो चौमासिकमा बजेट खर्चको प्रगति देखिने बताए । अघिल्ला वर्षको तुलनामा यस वर्ष बजेट अनुमान सोचे अनुसार हुने उनको भनाइ छ ।