शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

दलितका घरमा ‘गिरी बा’ पुजारी

पर्वत - पर्वतको कुश्मा नगरपालिका-६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरी दलित समुदायको घरमा पूजापाठ गर्दै आएका छन् । छुतअछुतको कुरा कहीं नलेखिएको तर केही टाठाबाठा ब्राह्मणले अर्कालाई नीच देखाएर आफूलाई ठूलो देखाउन हिन्दू धर्मभित्र गलत परम्पराको सुरुवात गरेको गिरीको भनाइ छ ।

मान्छेले मान्छेलाई भेद्भाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उनले दलित समुदायको घरमा पुगेर पूजा गर्न सुरु गरेको तीन दशक भयो । ‘धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन, केही मान्छेलाई आफूखुसी यो प्रथाको सुरु गराएका हुन्, एउटै हिन्दू धर्ममा बाँधिएका हामी सबै एकै हौं, फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्,’ पण्डित गिरीले भने, ‘मैले युवा अवस्थाबाट जातका नाममा भेद्भाव गर्नुहुँदैन भन्दै आएको छु ।’     

तिरस्कार सहेरै भए पनि उनले जातीय भेदभाव र हिन्दू धर्मभित्र भगवानका नाममा गरिने बली प्रथाकोसमेत खुलेर विरोध गर्दै आइरहेको बताए । उमेरले उकालो चढेपछि पहिले–पहिले जस्तै बोलाएका सबै ठाउँमा पुग्न नसक्ने गरेको तर जान सक्ने भएमा भने उनी त्यहाँ पुगेर कर्मकाण्ड गर्दै आएको बताउँछन् । -रासस