बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

खेलाडीले पनि हारको जिम्मेवारी लिनुपर्छ : चेल्सी प्रशिक्षक लाम्पार्ड

काठमाडौं : प्रिमियर लिगमा लगातार सात खेलमा पराजय भोगेको आर्सनलले शनिबार चेल्सीलाई हराउँदा प्रशिक्षक मिकेल आर्टेटाले राहत महसुस गरेका छन् । इमिरेट्स रंगशालामा भएको खेलमा सहरी प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दा अलेक्जान्ड्र लाकाजेट, ग्रानिट जाका र बुकायो साकाले एक-एक गोल गरे । चेल्सीका लागि ट्यामी अब्राहामले एक गोल फर्काए ।

यस सिजन संर्घषरत रहेको आर्सनल जितपछि १५ खेलबाट १७ अंक बनाएको छ । जितले अंक तालिकामा आर्सनलको स्थानमा ठूलो फरक नपरे पनि प्रशिक्षक आर्टेटाले आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्टी व्यक्त गरेका छन् । लगातार आलोचित भइरहेका स्विस मिडफिल्डर जाका, अपेक्षित खेल देखाउन नसकिरहेका लाकाजेट र आर्सनलका भविष्य मानिएका साकाले गोल गर्दा आर्टेटाले भनेजस्तो क्रिसमस उपहार प्राप्त गरे । 

आर्सनल गत नोभेम्बर १ यता प्रिमियर लिग खेल्न जित्न असफल रहँदै आएको थिए । इमिरेट्समा त झन आर्सनलले अक्टोबर ४ यता कुनै पनि लिग खेल जित्न सकेको थिएन ।

आर्सनल गत नोभेम्बर १ यता प्रिमियर लिग खेल्न जित्न असफल रहँदै आएको थिए । इमिरेट्समा त झन आर्सनलले अक्टोबर ४ यता कुनै पनि लिग खेल जित्‍न सकेको थिएन । लगातारको खराब प्रदर्शनले दबाबमा रहँदै आएका आर्टेटाले चेल्सीविरुद्धको जित सँगै आफ्नो टिमले आगामी खेलमा पनि सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

‘हामीलाई यो जितको एकदमै आवश्यकता थियो । हामी धेरै खेलमा राम्रो खेल्दाखेल्दै पनि अंक गुमाउन बाध्य भइरहेको थियौं । पछिल्ला आठ साता हाम्रो लागि निराशाजनक रहे । आशा छ यो जितसँगै हाम्रो भाग्य परिवर्तन हुनेछ,’ खेलपछि बीबीसीसँग कुरा गर्दै आर्टेटाले भने ।

उता चेल्सीले भने पराजित भएसँगै लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमायो । ‘बक्सिङ डे’ का दिन भएको खेलमा चेल्सी पेनाल्टीमा समेत चुक्यो । ३-० ले पछि परिसकेको अवस्थामा ८५ औँ मिनेटमा युवा स्ट्राइकर अब्रहामले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउन कोसिस गरे । त्यसको पाँच मिनेटपछि चेल्सीले पेनाल्टी पायो । तर भरपर्दा मानिएका जर्गिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले खेलको उर्ताद्धमा आर्सनलमाथि दवाब सिर्जना गर्ने मौका गुमायो ।

उपाधि जित्‍ने लक्ष्यमा रहेको चेल्सी पराजय पछि २५ अंक सहित सातौं स्थानमा सिमित भयो । अनपेक्षित पराजय भोगेपछि चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड आक्रोशित देखिए । ‘हामीले एकदमै खराब खेल्यौं । दोस्रो हाफमा केही सम्हालिए पनि पहिलो हाफमा हामीले आत्मसमर्पण नै गरेको जस्तो देखियो । म हारको जिम्मेवारी लिन तयार छु । तर खेलाडीले पनि जिम्मेवारी लिनुपर्छ,' लाम्पार्डले भने ।