शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

आकांक्षी पाँचै जना देउवा प्यानलका, पौडेल पक्ष उम्मेदवार खोज्दै

धनगढी - कांग्रेस सुदूरपश्चिममा पाँच जना सभापतिका दाबेदार देखिएका छन्  । सभापति दाबी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिमबहादुर रावल, बझाङका अर्जुनजंगबहादुर सिंह, अछामका गोविन्दबहादुर शाह र नेविसंघका पूर्वउपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही छन् । उनीहरु सबै पार्टी सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

स्रोतका अनुसार सभापतिका लागि अर्जुनजंगबहादुर सिंह र गोविन्द शाहमध्ये एकको सम्भावना बढी छ । आकांक्षी धेरै हुँदा उनीहरुलाई व्यवस्थापन गरेर एक मात्र उम्मेदवार तय गर्न देउवा पक्षलाई हम्मे हम्मे परिरहेको छ, भने देउवा पक्ष बलियो देखिएको सुदूरपश्चिममा पौडेल पक्षलाई उम्मेदवार खोज्नै समय लागेको छ ।

 आज उम्मेदवारको टुंगो लगाउने दुवै पक्षले बताएका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।