छिर्नै नसकिने सहरका सार्वजनिक शौचालय

काठमाडौँ- रत्नपार्कको सार्वजनिक शौचालयदेखि पाँच सय किलोमिटर दक्षिणमा काठमाडौँ महानगरपालिकाको कार्यालय छ । शौचालयको दुर्गन्ध महानगरसम्म पुग्दैन । बाटोमा हिड्ने पैदलयात्री र शौच गर्नेलाई दुर्गन्धले वाक्कै बनाउँछ । केन्द्र सरकारका मन्त्री तथा र महानगरका पदाधिकारी त्यही बाटो ओहोरदोहोर गर्छन् तर, उनीहरूले दुर्गन्धको महसुस गर्दैनन् । पैदलयात्री र असन, महाबौद्धमा घरायसी सामग्री खरिद गर्न आउनेले भने दुर्गन्ध प्रवाह नगरी सार्वजनिक शौचालयको प्रयोग गर्छन् ।
'शौचालयभित्र बसुन्जेल श्वास फेर्न गाह्रो भयो । कतिखेर बाहिर निस्कनु जस्तो भएको थियो । शौच गर्नुभन्दा नगर्नु बेस,' रत्नपार्कको सार्वजनिक शौचालय अगाडि भेटिएका मनमोहन अधिकारीले इकागजसँग भने। रत्नपार्क आउँदा शौचालय सफा नभए पनि उनले बारम्बार प्रयोग गरिरहन्छन् । शौचालय प्रयोग गर्नू रहर थिएन उनलाई बाध्यता थियो ।
केन्द्रिय राजधानीको मुख्य सहरको मुटु रत्नपार्कलगायत अन्य स्थानमा सार्वजनिक शौचालय नहुँदा सेवाग्राहीले सास्ती भोग्ने गरेका छन् । अधिकारीसँग रत्नपार्क बाहेक अन्य स्थानमा जाँदाआउँदा जरुरी परेको समयमा शौचालय प्रयोग गर्न नपाएको अनुभव छ ।
'पिसाब फेरेको १० रुपैयाँ तिर्दा सफासुग्घर शौचालय प्रयोग गर्न पाइँदैन,' उनले भने,' पर्याप्त पानी पनि छैन । अध्यारो ठाउँ छ । कमसेकम बिजुलीको व्यवस्थासमेत गर्नुपर्थ्यो तर, छैन ।'
विश्व स्वास्थ्य संगठनका अनुसार बढी भीडभाड हुने ठाउँमा तीन सय मिटरको दूरीमा सार्वजनिक शौचालय हुनुपर्छ । काठमाडौँ उपत्यकाको मुख्य मुख्य चोकमा शौचालय नहुँदा पैदलयात्रीले विभिन्न व्यापारीको मलको शौचालय प्रयोग गर्ने गरेका छन् ।
अधिकारीले उपत्यकाको विभिन्न स्थानमा यात्रा गर्दा शौचालय नभेट्दा सास्ती भोगेको अनुभव बताए । शौचालयको खोजीमा लामो समयसम्म बिताएको समेत सुनाए । सरकारले शौचालय निर्माणमा ध्यान नदिँदा जनताप्रति गैरजिम्मेवार बनेको उनले आरोप लगाए । मुख्य-मुख्य चोकमा शौचालय निर्माण गर्न उनी सुझाव दिन्छन् ।
मुख्य चोकमा छैनन् व्यवस्थित शौचालय
अहिले पनि कोटेश्वर, चाबहिल, कलंकी, महाराजगञ्ज, माईतीघरलगायतका स्थानमा शौचालय छैनन् । त्रिपुरेश्वर, बानेश्वर, गौशाला, स्वयम्भूलगायतका स्थानमा भने शौचालय छन् ।
चाबहिलबाट महाबौद्धमा पसलका लागि सामग्री खरिदका गर्न आएकी शान्ता लामाको अनुभव भने अधिकारीको भन्दा फरक रहेको छ । महिलाको शौचालयमा पानी र बति नभएको उनले बताइन् ।
सातामा एकपटक होलसेलमा पसलको सामग्री खरिद गर्न लामा आउँछिन् । सामान किन्ने ठाउँमा शौचालय नहुँदा रत्नपार्कको शौचालय प्रयोग गर्ने गरेको उनले सुनाइन् । शौचालय सफा नहुँदा दुर्गन्धले २ मिनेट पनि उनी शौचालयमा बस्न सकिनन् ।
शौचालय प्रयोग गरेबापत शुल्क तिर्नु परे पनि लामाले राम्रो वातावरणको शौचालय नपाउनुमा सरकार जिम्मेवार रहेको बताइन् । उपत्यकाको जुनसुकै चोकमा गए पनि सहजै शौचालयको प्रयोग गर्न नपाइएको उनले प्रस्ट पारिन् । 'सहरमा सबैथोकको सुविधा भए पनि शौचालयको कहर छ,' उनले भनिन् ।
उपत्यकाको मुख्य-मुख्य नगरपालिकामा कुल २५० सार्वजनिक शौचालय छन् । काठमाडौँ महानगरपालिकामा विभिन्न सार्वजनिक स्थान तथा संघ संस्थासहित १५०, ललितपुर महानगरपालिकामा ५५, किर्तिपुरमा २३ र मध्यपुर थिमी भक्तपुरमा २२ वटा शौचालय छन् । अस्पताल, मन्दिर, पार्क, सरकारी कार्यालय, व्यवसायीक भवन र पेट्रोल पम्पमा सार्वजनिक शौचालय उपलब्ध छन् ।
ऐतिहासिक स्थल, मठ-मन्दिरमा भएका शौचालयलाई पेट्रोल पम्पमा भएका शौचालयलाई सेवाग्राहीले सहजै प्रयोग गर्न पाएका छैनन् । सार्वजिनक स्थानमा निर्माण भएका शौचालय प्रयोगविहिन र कतिपय स्थानमा निर्माणाधिन छन् । केही भने सञ्चालन हुने क्रममा छन् ।
'शौचालय ठेक्का विधि हटाऔँ'
सार्वजनिक शौचालयमा भरपर्दो नीति, सञ्चालन गर्न कार्यविधि नबन्दा शौचालय राम्रो र स्तरीय बन्न नसकिरहेको गुथिका प्राविधिक सल्लाहकार तथा सार्वजनिक शौचालय सुधारकर्ता प्रकाश अमात्य बताउँछन् । देशको राजधानीमा विदेशी पर्यटकले शौचालयको प्रयोग गर्न खोज्दा सफा र व्यवस्थित नपाउँदा देशको बारेमा राम्रो सन्देश नजाने उनले बताए ।
बहालमुखी नीति तथा टेन्डर प्रक्रियाबाट शौचालय दिने प्रक्रिया हटाउनुपर्ने अमात्यको भनाइ छ । जनतासँग सेवामा प्रत्यक्ष जोडिएका विषयहरूमा सरकारले आफैँ सञ्चालन गर्नुपर्ने उनले बताए । ' प्रयोग भइरहेका शौचालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ,' उनले भने,' प्रयोग गर्दा शुल्क लिने वा नलिने त्यसको सम्पूर्ण व्यवस्था कार्यविधिमा हुनुपर्छ ।'
शौचालय अपाङ्गमैत्री हुनुपर्ने अमात्यको माग छ । उपत्यकामा भएका शौचालय फरक अवस्थाका मानिसले प्रयोग गर्न नसक्ने प्रकृतिका छन् । महिला र पुरुषले प्रयोग गर्ने समान संख्यामा हुनुपर्ने उनले धारणा राखे । शौचालयमा काम गर्नेहरूको निश्चित पारिश्रमिक तोक्नुपर्ने र श्रमिकले मन लगाएर सर-सफाई गर्ने उनको भनाइ छ ।
वीर अस्पताल अगाडिको पुलमुनी निर्माण भएका शौचालयलाई व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्न नहुने अमात्यको तर्क छ । सहरको मध्यभागमा शौचालय बनाएर कमाउने धन्दाबाहेक अन्य काम हुन नसकेको उनले सुनाए ।
जनसंख्याका आधारमा शौचालय कम
जनसंख्याका अनुपातमा सार्वजनिक शौचालयको संख्या एकदमै कम रहेको काठमाडौँ महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत बताउँछन् । भएका शौचालयलाई व्यवस्थित तरिकाले सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
'शौचालय स्तरीय छैनन्, पुराना भवनको पुननिर्माण भइरहेको छ,' बस्नेतले इकागजसँग भने,' ठेक्कामा लगाए पनि अनुगमन हुन नसक्दा सफा र व्यवस्थित तरिकाले सञ्चालन नगरेको पाइएको छ । सञ्चालन गर्न पाएकाले कतिपय स्थानमा व्यापार गरेका छन् ।'
शौचालय सञ्चालन कार्यविधि तयार भए पनि बोर्डबाट पास हुन नसकेको बस्नेतले जानकारी दिए । कार्यविधि कार्यान्वयनमा नहुँदा समस्या भएको उनले प्रस्ट पारे । महानगरको विभिन्न वडामा १६ शौचालय सञ्चालनमा छन् । केही वडाले आफै शौचालय सञ्चालनमा ल्याइसकेका र आठ वटा शौचालय स्थानमा निर्माणाधिन अवस्थामा छन् ।
दुई करोडमा शौचालय ठेक्का
रत्नपार्क र विद्युत प्राधिकरण अगाडिको शौचालय सञ्चालन गर्दै आएका ठेकेदार ऋषि गडतौलाले महानगरले कार्यविधि बनाएर सञ्चालन गर्न अनुमति दिएमा पुनः शौचालय प्रयोग गर्ने बताए । पाँच वर्षका लागि शौचालय सञ्चालन गरेका उनको ठेक्का अवधि गत साउनमा समय सकिएको थियो ।
गडतौलाले दुवै स्थानको शौचालय २ करोड बढीमा ठेक्का लिएको जानकारी दिए । सम्झौता सकिएपछि अहिले सफाइ कर्मचारीले शुल्क उठाउँदै आएका छ्न् । ठेक्का अवधिमा बायोग्यास निकाल्ने र टयांकीसमेत निर्माण भएको थियो । सम्झौता सकिएको दिन महानगरले टयांकी भत्काइदिएको उनले बताए ।

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

प्रतिक्रिया