शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भक्तपुरमा १३ सय रोपनीमा राेपेकाे धानमा दाना लागेन

भक्तपुर- भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । 

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।

 भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् । 

भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन् ।

 भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ । 

लोकल स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको छ । किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षित गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको छ । 

कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरुले बताएका छन् ।

भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलबहादुर न्ह्ेमाफुकीले जानकारी दिए । उनका  अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो । सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । हाइब्रिड जातको धान बीउ प्रयोग गर्दा यस्ता समस्या पटकपटक दोहोरी नै रहन्छन् । त्यसकारण किसानले पनि सचेत हुनुपर्छ । लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए । 

उनकाअनुसार खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ । चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नगरपालिकाले पनि अध्ययन गरी रहेको समेत उनले जानकारी दिए । 

उनकाअनुसार अब उक्त किसानहरुलाई कसरी के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको समेत उनले बताए । 

नगरभित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केही राहत उपलब्ध गराउने समेत जानकारी दिए ।