बन्दको पूर्व सन्ध्यामा दोब्बर भाडा असुली

चितवन - काठमाडौँमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौँ जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौँ जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उनी सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिए ।
पुलचोकमा पनि उनले सोचेँ जसरी काठमाडौँ जाने गाडी आएका थिएनन् । राति ८ बजेसम्म गाडी कुर्दा पनि गाडी नआएपछि उनी टोलाएर बसेका थिए । त्यत्तिकैमा एक जना व्यक्ति आएर काठमाडौँ जाने ट्याक्सी तयार रहेको बताए । उनी ट्याक्सी चढे । ट्याक्सीमा अरु यात्रु पनि थिए । ट्याक्सी चालकले एक हजार भाडा लाग्ने बताए ।
बीच बाटोमा पुगेर अलपत्र परेका उनले एक हजार रुपैयाँ भाडा तिर्ने सहमति भयो । तर, ट्याक्सी चालकले मादक पदार्थ सेवन गरेका रहेछन् । अल्लि पर पुगेपछि ट्याक्सीबाट ओर्लेर उनी पुनः पुलचोकमै पुगे ।
‘आफन्त बितेर जानै पर्ने भएर यहाँसम्म आइयो । मंगलबार बन्द रहेछ । गाडी पाउनै सकिएन,' उनले गुनासो गरे, ‘जति भाडा मागे पनि तिर्छु भनेर चढेको थिए । ड्राइभरले त रक्सी पो धोकेको रैछ । उ..पर पुगेर झरेर आएँ ।’
करिब आधा घण्टा कुरेपछि ग१ख ९११२ नम्बरको बस आइपुग्यो । काठमाडौँ जानका लागि पुलचोक पुगेर गाडी कुर्नेको भिड थियो । गाडीले ‘काठमाडौँ..काठमाडौँ’ जाने भनेपछि यात्रु गाडीको पछि दगुरे । गाडीका साहुले आठ सय रुपैयाँ भाडा लाग्ने बताए ।
मंगलबार काठमाडौँ नपुगि नहुने सरोज जस्ता केहि यात्रु आठ सय रुपैयाँ भाडा भने पनि गाडीको सिटमा गएर बसे । नारायणगढदेखि काठमाडौँको वास्तविक बस भाडा साढे चार सय रुपैयाँ हो । भाडा महँगो मानेका केही यात्रुले भने ‘किन यति धेरै महंगो ?’ भनेर गाडी सहचालकलाई प्रश्न गरे ।
वैदेशिक रोजगारीमा जानु पूर्वतालिम लिन काठमाडौँ जान लागेका भरतपुर महानगरपालिका–९ का दिनेश रेग्मीले मंगलबार बन्द भन्दैमा बढी भाडा असुल्न पाइन्छ ? भन्दै प्रश्न गरे । सहचालकले भने काठमाडौँको वास्तविक भाडा पाँच सय भए पनि बाध्यतामा पर्ने यात्रु जसरी पनि आठ सय रुपैयाँ तिरेर जाने खुलाए ।
‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्याे,’ उनले भने, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गरे ।
‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यहि भएर अर्काे दिन जानुपर्ला भनेर फर्किए,' रेग्मीले भने । त्यसअघि उनले काठमाडौँ जाने माइक्रो फेला पारेका थिए । मुढामा बसेर गएपनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफु नचढेको उनले बताए ।
गाडीले भाडा महँगो भनेपछि उनले प्रहरीलाई पनि जानकारी गराए । पुलचोकमा खटिएका एक जना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।
बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । बन्द यातायात व्यवसायीलाई भने मौकामा चाैका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया