करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु

तनहुँ – तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।
बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो ।
रानाकाअनुसार मृतकको दाहिने हातमा मोबाइल थियो । ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंका गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रूपैयाँ दिनुपर्ने माग छ ।
स्थानीयबासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबीच बिहीबार दिनभर जीपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरी छलफल हुने जनाइएको छ ।
करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाइते भएका छन् । मृतकका काका ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । घाइते दुवैको जीपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।
बिहान ४ बजे घर अगाडीको ट्रान्सफर्मरमा आगो बलेको देखेपछि घरमा रहेको एमसिबी बन्द गर्दा हातमा करेन्ट लागेर ढलेको घाइते दलबहादुरले बताए । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण गाउँमा दुखद घटना घटेको उनको भनाइ छ ।
‘ट्रान्सफर्मर बेला–बेलामा बिग्रिरहन्थ्यो । फ्युज गएर झिरझिर आगो बलिरहन्थ्यो । बिजुलीको मान्छेलाई मर्मत गरिदिन कतिपटक भनियो। सुन्दै सुनेनन्। हामीले आफैंले पनि कतिपटक फ्युज फेर्यौं’, उनले भने, ‘अहिले त फ्युज नै थिएन । हप्तामा दुई पटकसम्म बिग्रिन थालेपछि उनीहरूले डाइरेक्ट जोडदिए ।’
उनका अनुसार डेढ महिनादेखि ट्रान्सफर्मरमा फ्युज नराखी लाइन जोडिएको थियो । ट्रान्सफर्मरमा फ्युज जोडिएको भए गाउँमा दुखद घटना नघट्ने उनको जिकिर छ । बिहीबार बिहान हाइभोल्टेज विद्युत प्रवाह हुँदा ट्रान्सफर्मरसँगै अधिकांश घरको विद्युतीय सामाग्रीमा क्षति पुगेको स्थानीय बताउँछन् । दुरुङचुङमा रहेको ट्रान्सफर्मरबाट २७ घरमा विद्युत् प्रवाह हुँदै आएको थियो ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया