अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

जनकपुरधाम – छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । जनकपुरधामसहित देशका विभिन्न स्थानका नदी, पोखरी तथा तालतलैयाहरूको छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो ।
पोखरी नै पोखरीको सहरको रूपमा चिनिएको जनकपुरधामस्थित गंगासागर, धनुष सागर, अंगराज सर, रत्न सागरलगायत दुई दर्जनभन्दा बढी पोखरीका घाटहरू छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएर सजाएका छन् । सो घाटमा राखिएका प्रसाद सामग्री व्रतालुले षष्ठी देवीलाई अराधना गर्दै अस्ताउँदै गरेको भगवान सूर्यलाई अर्घ दिएका हुन् । बिहीबार (भोलि) बिहान सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पारणसँगै सम्पन्न हुनेछ । कात्तिक शूक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व कार्तिक शूक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा षष्ठी देवीका साथै सूर्यदेवको उपासना गरिन्छ ।
प्रजातन्त्रको असल उदाहरण दिने यो पर्व गरिब, धनी, दलित एवम् उच–नीचको ख्याल नगरी समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछन् । अर्घ दिने ब्रतालु ३६ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमासमेत लिइन्छ ।
छठ पर्वको आराधना गर्नाले चर्मरोगबाट मुक्ति पाइने, निः सन्तानले सन्तान प्राप्त गर्ने, परिवारमा सुख शान्ति भित्रिने, आपसमा भाइचारा कायम हुने, मनकामना पूरा हुनेजस्ता जनविश्वास चली आएका छन् । तराई र मधेशमा मनाइँदै आएको मिथिला संस्कृतिमा आधारित छठ पर्वको व्यापकता पछिल्लो समय बढ्दै गएको देखिन्छ ।
केही दशकयता राजधानी काठमाडौंसहित देशका मध्यपहाडी जिल्लामा पनि सबै वर्ग समुदायले छठ पर्व मनाउने गरेको पाइन्छ । यता छठ पूजालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थाका लागि जनकपुरधाममा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले बताए । ‘खासगरी छठ पर्व आयोजनाका लागि पोखरी भएका क्षेत्रमा भीडभाड हुन सक्ने र सो क्रममा हुनसक्ने सम्भावित चोरी र दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै हामीले सादा पोशाकमा तथा मोबाइल टोली परिचालन गरेका छौं,’ उनले इकागजसँग भने ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया