करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या आशंका
बैतडी – गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका– ४ बिम्थी बसर बस्ने महराको वडा नम्बर– २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज सुरेन्द्र महराले बताए ।
‘करेन्ट लागेको भनिएको छ तर हामी आफन्तहरू कोही पनि घटनास्थल नपुग्दै मृतकलाई अर्कै ठाउँमा लगिएको छ । घटनास्थलमा एक थोपा रगत छैन । लटिनाथ स्वास्थ्यचौकीमा पुग्दा १०–१५ लिटरजति रगत बगेको छ । टाउकोमा गम्भीर चोट लागेको छ । करेन्ट लागेको भए चोट कसरी लाग्यो ?,’ उनले भने, ‘उहाँको मृत्यु करेन्टले नभएर योजनाबद्ध हत्या हो ।’
हत्या गरिएका प्रमाणहरू फेला पर्न थालेकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने उनले बताए । घटना भएको भनिएको ठाउँमा त्यस दिन १ सयभन्दा बढी मान्छेहरू भए पनि उनीहरूले फरक फरक कुराहरू बताइरहेको पीडित पक्षको भनाइ छ । मृतकका आफन्त घटनास्थलमा नपुग्दै महरा घाइते भएको भनी अन्यत्रै लगिएको स्थानीय प्रकाश धामीले बताए । मिस्त्री पेसा गर्दै आएका महराको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।
मृतकका आफन्तले हत्याको आंशकासहित जाहेरी दिएकाले घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको दिन घर ढलान कार्यमा संलग्न व्यक्तिहरूमाथि नै आफन्तले आंशका गरेकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । घटनाको सत्यतथ्य छानविन गरी कोही पनि व्यक्ति दोषी ठहरिएमा कारबाही गरिने उनले बताए । मृतक महराका दुई श्रीमती र दुई जना छोरा छन् । उनका जेठा छोरा आठ वर्षका छन् भने अर्का चार वर्षका छन् ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया