यसरी खपत गराउन सकिन्छ बिजुली

गत वर्षदेखि वर्षायाममा मुलुकमा बिजुली जगेडा हुँदै आएको छ । जगेडा भएको बिजुली खपत गराउने उपाय नपाएर गत वर्ष पनि खेर गयो भने यसपालि पनि गयो । भारतले ३९ मेगावाट निर्यात गर्ने अनुमति दियो । तर भारतमा सस्तो (औसतमा प्रतियुनिट ४ भारु) मा दिएर बाँकी बिजुली खेर गइरहेको छ । अहिले राष्ट्रिय बहस नै बनेको छ । उता उद्योगहरुले मागेजति बिजुली पाउन सकेका छैनन्, प्रसारण लाइन नभएर ।
बिजुलीलाई कच्चा पदार्थको रुपमा स्वदेशमा खपत गराउन सकिने आधारहरु प्रतिष्ठित उद्योगपति पवन गोल्यानले इकागजसँगको बातचितमा दिए । नेपालमा औद्योगिकरण गर्ने, निर्यात बढाउने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन बिजुलीको महसुलमा कस्तो नीति अवलम्बन गर्नुपर्छ भन्ने तथ्य र चित्र गोल्यानकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।
सरकारले सिंचाइमा महसुल घटाएको छ । यो स्वागतयोग्य छ । करिब दुई रुपैयाँ प्रतियुनिट । तर खेतसम्म लाइन नै पुगेको छैन । त्यो लाइन पुर्याउन अहिले धेरै गाह्रो भइरहेको छ । किसानहरुको ‘लबिङ’ पुग्दैन । यसलाई त बृहत कार्यक्रमको रुपमा सरकारले देशव्यापी बनाउनुपर्छ । कृषिमा दिइदै आएका विभिन्न अनुदानलाई सिंचाइको बिजुली उपयोगितमा रुपान्तरण गर्यो भने बिजुली खपत बढ्छ ।
अर्को चाहिँ कृषिको जुन आयात बढिरहेको छ र किसान विस्थापित भइरहेका छन् त्यसलाई रोक्छ । खेत-खेतमा बिजुली पुर्याउन पहल गर्न एकदम आवश्यक छ । सबैभन्दा मुख्य प्राथमिकतामा पर्नुपर्ने भनेकै सिंचाइ हो ।
कृषि प्रशोधन उद्योगलाई बिजुलीमा छूट दिने कार्यक्रम आउनुपर्छ । कृषि प्रशोधनमा सस्तोमा बिजुली पाउँछ भन्ने भयो यसमा धेरै उद्योग छन्, जसमा बिजुली खपत बढी हुन्छ । यस्ता उद्योगलाई प्रोत्साहित गर्यो भने बिजुलीकै कारण उद्योगहरु आउन थाल्छ । मलको एउटा उदाहण हेरौं । अहिले जैविक मलहरुको कारखाना आइरहेका छन् । बिजुली एउटा कच्चा पदार्थ हो । त्यसलाई सस्तोमा दिइयो भने त्यस्ता उद्योग आउन थाल्छन् । यस्ता उद्योगले बिजुली खपत बढाउँछ र यसले पर्यावरणलाई स्वच्छ राख्छ । व्यवस्थापन नै गर्न नसकिरहेको र खेर गइरहेको फोहोरबाट मल उत्पादन हुन्छ, ग्यास उत्पादन हुन्छ र खाना पकाउने ग्यास पनि उत्पादन हुन्छ ।
तेस्रो कुरा उद्योग । प्रायःजसो उद्योगमा भट्टी (बायलर) छन् । तर बिजुलीको भट्टी छैन, किनभने हिजोसम्म त बिजुली पाउँदैनथ्यो । दाउरा, कोइला, धानको भुस, डिजेल र फर्नेस आयलका भट्टीहरु छन् उद्योगमा । यी सबै भट्टीलाई बिजुलीमा परिणत गराउन नीति नै आउनु पर्यो । यसलाई विस्थापित गरेर बिजुलीको भट्टी ल्याउँछ भने त्यस्तो उद्योगलाई पाँच, दस वर्ष ५० प्रतिशत वा २५ प्रतिशतमा बिजुली दिने या सरकारले अनुदान दिने हो भने सजिलो हुन्छ ।
अनुदान दिन गाह्रो छ, यसमा फेरि विकृति आउन सक्छ । आफै लगाउ, त्यसको बिजुली जति खर्च हुन्छ, त्यो २५ प्रतिशतमा दिन्छु भन्यो भने तत्काल बिजुलीको खपत बढ्छ । फेरि यी भट्टीहरु २४ घण्टा चल्छन् । जति घण्टा उद्योग चल्छ, त्यति नै घण्टा भट्टी चल्छ । धागो तथा कपडा उद्योगहरुमा २४ घण्टा भट्टी चल्छन् । अरु पनि धेरै उद्योग छन्, जहाँ भट्टी चल्छन् ।
नेपालमा सबै उद्योगमा गर्न सकेमा २०० देखि ३०० मेगावाट बिजुली एकदेखि दुई वर्षभित्र खपत हुन सक्छ । यस्ता भट्टीको संख्या नेपालमा करिब चार हजार छन् । एउटै उद्योगमा तीनवटासम्म भट्टी छन् । तर अहिलेको विद्यमान विद्युत् महसुल दरबाट यी भट्टी चलाउन सकिंदैन, धेरै महँगो पर्छ । फर्नेस आयलभन्दा चाहिं बिजुली सस्तो पर्छ ।
पहिला बिजुलीको भट्टी किन नलगाएको भन्दा त्यतिबेला बिजुली नै पाउँदैनथ्यो । तर दाउरा बाल्नु भनेको अपराध नै हो । तैपनि बाल्छन् । यसलाई प्रतिस्थापन गर्ने लागत फरक-फरक पर्न सक्छ । कुनै भट्टीमा बिजुलीसमेत राख्न सकिन्छ । बिजुली लाग्न सक्ने पूर्वाधारयुक्त भट्टी छ भने त्यो सस्तो पर्न जान्छ । कुनै भट्टीमा चाहिं छुट्टै बिजुलीको राख्नुपर्ने हुन्छ, त्यो भयो भने लागत उच्च हुन पुग्छ । तर जब बिजुली सस्तो हुन्छ, अधिकांश उद्योगले बिजुलीको भट्टी राख्छन् । सरकारले बिजुली भट्टी लगाउन प्रेरित गर्नुपर्यो, छूट दिनु पर्यो । उद्योगको प्रकृति र संरचनाअनुसार बिजुलीको भट्टी स्थापना गर्ने लाग्ने समय फरक-फरक हुन सक्छ ।
तर सबैले लगाउने हो भने एक वर्षमा सकिन्छ । यो निरन्तर प्रवाह हो । यस्ता भट्टी पिक आवर (उच्चतम खपत हुने समय) मा दुई घण्टा नचलाउन पनि सकिन्छ । बहुऊर्जामा आधारित हुने यस्ता भट्टी बिजुली अनुपलब्धताका समयमा अरु इन्धनले पनि चलाउँछन् । किनभने उद्योग बन्द गर्नु हुँदैन । हाइब्रीड मोडेलमा जान सकिन्छ । पिकको समयमा भट्टी चलाउनेलाई बिजुली महसुलमा छूट नदिंदा पनि हुन्छ । अरु बेलामा छूट दिने, पिकको समयमा नदिने भयो भने आफै निरुत्साहित हुन्छ कि पिकमा भट्टी चलाउनु हुँदैन भनेर ।
विशेष गरी निर्यातमूलक उद्योगहरुको एउटा कच्चा पदार्थ भनेको बिजुली हो । बिजुली सस्तो भइदियो भने उत्पादन लागत उल्लेखनीय रुपमा घटाउन सकिन्छ । बिजुली धेरै खपत हुने निर्यातमूलक उद्योगहरु जस्तै धागो, प्लाष्टिक, स्टिल, सिमेन्टलगायत अरु पनि छन् । यसमा पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी निर्यात गर्ने द्योगको लागत घटाउन यदि ५० प्रतिशत छूट दियो भने अहिले भइरहेको खपतभन्दा दुई वर्षमा दोब्बर खपत हुन्छ । निजी क्षेत्रबाट प्राधिकरणले बिजुली खरिद गर्ने भनेको औसतमा प्रतियुनिट ५ रुपैयाँ २० पैसा हो । उद्योगले तिर्ने प्रतियुनिट १० रुपैयाँको हाराहारीमा छ । हेरी हेरी छ । नौदेखि ११ रुपैयाँसम्म छ । त्यसलाई यदि प्रतियुनिट पाँच रुपैयाँमा दियो भने मुलुकमा औद्योगिकरण हुन सक्छ ।
उद्योगमा सुरुमा पुँजी खर्च धेरै लाग्छ । पछि खर्च घट्दै जान्छ । त्यसलाई बिजुलीमा पाँच वर्षसम्म समान छूट दिने र त्यसपछि क्रमशः घटाउँदै जाने गर्नुपर्छ । नयाँ आएको उद्योगलाई पाँच वर्षसम्म बिजुलीमा छुट दिने, त्यसपछि हटाउँदै जाने गर्यो भने यसले बिजुली खपत त हुन्छ नै, साथै मुलुकको समग्र अर्थतन्त्र सुदृढ हुन्छ । यसलाई वैज्ञानिक तवरबाट व्यवस्थित गर्नुपर्छ । राज्यले निःशुल्क देओस् भन्ने कुरा होइन । देशको विद्युत् खपत कसरी बढाउने भन्ने सन्दर्भमा यस्ता उपाय अपनायो भने मुलुकमा औद्योगिकरण हुन्छ । यसले उत्पादित वस्तु प्रतिस्पर्धी हुन्छ र निकासी बढ्छ अनि आयात घट्न थाल्छ । रोजगारी पनि बढ्छ ।
मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पनि बढ्छ । यी सब गर्नका लागि बिजुली कच्चा पदार्थको रुपमा प्रयोग गर्नुपर्छ । सुरुमा सस्तो दिऔं, पछि गएर क्रमिक रुपमा छूट घटाउँदै जाऔं । नयाँ आउने उद्योगका लागि विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने । त्यसपछि हरेक वर्ष १० प्रतिशतका दरले कटौती गर्दै जाने । ५० लाई ४०, ४० लाई ३० गर्दै शून्यमा झार्ने । किनभने पाँच वर्षसम्म त उद्योगको लागत घटिसकेको हुन्छ ।
पाँच वर्षका लागि यसरी छूट दिंदा प्राधिकरणलाई पनि नोक्सान भएन । यो प्रतिस्पर्धी लाभ प्राधिकरणलाई पनि हुन्छ । प्राधिकरण पनि एउटा उद्योग हो, सरकारी भए पनि । तर नाफा नोक्सान प्राधिकरणले पनि हेर्नुपर्यो । प्राधिकरण पनि घाटामा जानु भएन । खेर गएको वा जाने बिजुलीको पैसा त प्राधिकरणलाई पनि आउने भयो ।
विद्युत् माग भइरहेका ठाउँमा आपूर्ति गर्न सकिएको छैन । विशेष गरी प्रसारण लाइन अभावका कारण । स्थानीय तहमा ट्रान्सफरमरको अभाव छ । सुदृढीकरण गरिएको छैन । अहिले विराटनगरमा २ सय मेगावाटभन्दा बढीको बिजुलीको माग छ । कटारीमा पनि समस्या छ । धरान कोरिडरमा पनि मागेको जति दिन सकेको छैन । सबै ठाउँमा यही समस्या छ ।
प्राधिकरणले गम्भीर भएर युद्धस्तरमा लाग्ने हो भने एक वर्षमा विद्युत् माग भएका स्थानमा पूर्वाधार निर्माण तथा सुदृढ गर्न सकिन्छ । भएकै प्रसारण लाइन सदृढ गर्ने हो, भएकै ट्रान्सफरमरको क्षमता बढाउने वा थप गर्ने हो । काम गर्न चाहेमा यो कुनै ठूलो कुरा होइन । यति काम गर्यो भने अहिलेको जगेडा बिजुली मात्र होइन, आगामी वर्षमा क्रमिक रुपमा थपिने बिजुली खपत गर्न कुनै गाह्रो हुँदैन ।
हामी वर्षौँदेखि कामै गरेनौं, चूप लागेर बस्यौं, बिजुली नै छैन भनेर बस्यौं । जबकि एक, दुई वर्षपछि यति मेगावाट बिजुली आउँछ भन्ने त पहिले नै हामीलाई थाहा थियो । यो काम मन्त्री वा मन्त्रालयको होइन, विशुद्ध प्राधिकरणको हो । प्राधिकरणले मैले विद्युत् खरिद सम्झौता (पीपीए) यति गरेको छु, यो यो वर्षमा यति बिजुली उत्पादन हुन्छ भनेर पहिले नै योजना बनाउनुपर्थ्यो । मागेको जति बिजुली आपूर्ति गर्न प्रणाली सुदृढीकरण लगायत माथि उल्लिखित काम प्राधिकरणले पहिले नै गर्नुपर्थ्यो । जति कुरा गरे पनि मुख्य समस्या भनेकै प्रसारण लाइनको हो । विद्युत् लिने र दिने दुवैको अवरोध भनेकै प्रसारण लाइन हो । अहिलेको जुन प्रक्रिया छ, त्यो धेरै लामो छ ।
विद्युत् लिनका लागि तीन, चार महिना लाग्छ । त्यसलाई सात दिनभित्र टुंग्याउने संयन्त्र हुनुपर्यो । अनिवार्य रुपमा दिने व्यवस्था मिलाउन किन सकिंदैन । कसैले विद्युत् माग्छ भने उसलाई छ, छ महिना किन कुराउनु पर्यो ? आज होङ्सीको उदाहरण हेरौं । आज ५ वर्ष भयो उसले मागेजतिको बिजुली नपाएको । उसले फर्नेस आयल वा धानको भुसले ऊर्जा उयोग गरेको छ । प्रसारण लाइन नभएका कारण यति बिजुली खेर, उता होङ्सीले बिजुली पाएको छैन ।
राज्यले चाहेमा हुँदैन ? प्रसारण लाइनका सबालमा प्राधिकरण एक्लैले चाहेर पनि हुँदैन । खेर गएर भएको यो आर्थिक क्षति त प्राधिकरणको मात्र होइन, यो त देशकै क्षति हो । प्राधिकरणलाई मात्र दोष दिएर हुँदैन । जहाँ प्राधिकरणको गल्ती छ, त्यहाँ मात्र उसलाई दोष दिनु । हामी सबैको दोष हो । म आफू एउटा उद्योगीको पनि दोष हो कि मैले समयमै किन घचघच्याइनँ ? सञ्चारको पनि दोष हो । सरकारलाई गएर ठाडो प्रश्न किन गर्नुभएन ? एकातिर बिजुली खेर, अर्काेतिर प्रसारण लाइन पाँच, पाँच वर्षमा बनाउन नसक्ने । यो तरिकाले कसरी औद्योगिकरण हुन्छ ? सिमेन्ट उद्योगमा त मार्जिन थियो बच्यो, उसले तैपनि पैसा कमायो ।
किनभने यहाँ सिमेन्टको अभाव छ । हाम्रोजस्तो धागो उद्योगहरु त टाट पल्टिन्थ्यो । यो नीतिले त प्रत्यक्ष वैदेशिक लगानी आउँदैन । यसले विदेशी लगानीकर्तामा राम्रो सन्देश पनि दिइरहेको छैन । समयमै सबै सरोकारवाला जागृत हुने र मिलेर काम गर्ने हो भने समस्या समाधान भएरै छाड्छ । भोक लागिसकेपछि खेत जोत्न गएर हुन्छ ? घरमा आगो लागिसकेपछि कुवा खन्न गएर हुन्छ र भनेजस्तै हो । जे कुराको पनि समयमै योजना बन्नुपर्छ र निर्णय हुनुपर्छ ।
(उद्योगपति गोल्यानसँग इकागजका विकास थापाले गरेको कुराकानीमा आधारित)

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया