तीन महिनामा मेलम्चीको पानी काठमाडौँ आउन सक्ने
पुरिएको मेलम्ची सुरुङ सफा गर्ने तयारी

काठमाडौँ- गत असार २ गते आएको बाढीले पुरिएका मेलम्ची खानेपानीको सुरुङहरू सफा गरी छिटोभन्दा छिटो काठमाडौँमा पुनः पानी ल्याउने तयारी सुरु भएको छ । आयोजनाका कार्यकारी निर्देशक बासु पौडेलले वैकल्पिक र मुख्य सुरुङ जाने सुरुङ (अडिट)भित्र छिरेको लेदोसहितका अवशेष (डेब्रिस) हटाई अस्थायी रुपमा पुनः पानी ल्याउने तयारी भएको बताए । आयोजनाले बाढी तथा पहिरोले भत्काएका र ध्वस्त पारेको सडक अस्थायी रुपमा मर्मत गरेर मुहानसम्म गाडी जान सक्ने बनाएको छ ।
सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्नेसहितको मेलम्ची प्रतिकार्यका लागि आयोजनाले कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजना मेलम्ची खानेपानी विकास समिति (बोर्ड) बाट छिट्टै पारित गराई मन्त्रिपरिषद्मा लैजाने तयारी भएको पनि कार्यकारी निर्देशक पौडेलले बताए । यी कार्य गर्न करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
मन्त्रिपरिषद्मा कार्ययोजना प्रस्ताव गर्नुअघि खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीसहित मन्त्रालय र आयोजनाका पदाधिकारीहरूले हिजो मंगलबार मुहान क्षेत्रको स्थगगत निरीक्षण गर्यो । गत चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दा अस्थायी बाँध र वैकल्पिक सुरुङ (२०० मिटर) बाट मुख्य सुरुङमा पानी लगिएको थियो । गत असार २ गते आएको बाढीले उक्त वैकल्पिक सुरुङभित्र डेब्रिस थुपारेको हो । ‘अडिट टनेल सफा गरेर मुख्य सुरुङको करिब ५ किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि (ड्रेन आउट) वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसाल्न सकिन्छ,’ पौडेलले मंगलबार इकागजसँग भने ।
त्यतै मुख्य सुरुङ प्रवेश गर्ने तीन सय मिटरको अम्बाथानस्थित अडिटभित्र पनि यस्तै डेब्रिस थुप्रिएको छ । ‘यी दुई सुरुङमा थोरै डेब्रिस भए छिटो पानी आउँछ, धेरै रहेछ भने त्यसअनुसारको समय लाग्छ’ कार्यकारी निर्देशक पौडेलले भने, ‘हाम्रो अनुमान थोरै डेब्रिस छ भन्ने हो, हाम्रो अनुमान र धरातलीय यथार्थ मिल्यो भने आगामी दुई, तीन महिनाभित्र काठमाडौँमा फेरि मेलम्चीको पानी आउँछ ।’
आयोजनाले अल्पअवधिका लागि यी दुई सुरुङ सफा गरी छिटोभन्दा छिटो काठमाडौँमा पानी ल्याउने योजनालाई पहिलो प्राथमिकता दिएको पनि पौडेलले बताए । तर कार्ययोजना पारित भएछ भने पनि यति दिनमै पानी ल्याउन सकिन्छ भनेर किटान भने गर्न नसकिने उनको भनाइ थियो ।
‘सुरुङभित्र खोतलेर हेर्नुपर्छ, जुन अहिले हेरिएको छैन, थोरै पुरिएको भए थोरै समय लाग्छ,’ उनले भने । आयोजनाले दोस्रो प्राथमिकता भने मुहान क्षेत्रको सफा गरी स्थायी रुपमै पानी सञ्चालन गर्ने रहेको छ । ‘मुहान क्षेत्र नराम्रोसित पुरिएको छ, यसलाई हटाउने काम हातबाट गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘यसका लागि धेरै समय लाग्छ, तर पहिलो प्राथमिकताअनुसार पानी सञ्चालन गरिहाल्ने र मुहान सफा गर्ने कार्य पनि जारी राख्न योजना छ ।’
मेलम्चीको मुख्य सुरुङ (२६.५ किलोमिटर) डेब्रिससहितको बाढी आउनु ठीक एक दिन अघि परीक्षणका लागि बन्द गरिएको थियो । मुख्य सुरुङ सही हालतमा रहेकाले काठमाडौंमा अस्थायी रुपमै भए पनि पानी ल्याउन धेरै समय नलाग्ने आयोजनाले जनाएको छ ।
सुख्खा सुरु, पानी उत्पादन घट्न थाल्यो
यता काठमाडौँ उपत्यकामा भने खानेपानी उत्पादनमा सुख्खायामको भन्दा अहिले नै दैनिक ५ करोड लिटर घट्न थालेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।
केही दिनअघिसम्म दैनिक १५ करोड लिटर पानी उत्पादन हुँदै आएकोमा अहिले यस्तो उत्पादन १० करोड लिटरमा सीमित भएको छ । शाक्यका अनुसार उपत्यकामा खानेपानीको माग भने दैनिक ४३ करोड लिटर छ । ‘उत्पादन घट्न थालेपछि हामीले थप पानी आपूर्ति गर्ने प्रयास सुरु गरिसकेका छौं,’ शाक्यले इकागजसँग भने ।
उपत्यकाका विभिन्न १० ठाउँमा थप ट्यूव वेल राखेर एक करोड लिटर अतिरिक्त पानी उत्पादन गर्ने लक्ष्य छ । सुरुङ परीक्षणका लागि बन्द गरिए लगत्तै बाढी आएपछि उपत्यकामा खानेपानी वितरण तालिका पनि प्रभावित भएको थियो । मेलम्ची बन्द भएपछि औसत प्रतिग्राहकको घरमा ६ देखि ९ दिनमा पानी आउने गरेको थियो । अब सुख्खायाम र आपूर्ति कम हुँदै अर्को तालिका प्रकाशित गर्न लागिएको पनि शाक्यले बताए ।
शाक्यले सुख्खायाम वृद्धिसँगै सार्वजनिक खपतका लागि केयूकेएलका ट्यांकर परिचालन गरेर खानेपानी वितरण गर्ने पनि शाक्यले बताए । केयूकेलसँग हाल चालू हातलमा १३ वटा ट्यांकर छ । ‘अझ सुख्खायाम बढ्दै गएपछि सर्वसाधारणलाई राहत दिनका लागि ट्यांकरबाट वितरण गर्नेछौं ।’

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया