मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

सियरा लिओनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९० भन्दाबढीको मृत्यु

 फ्रिटाउन - इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन्। उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिए ।

 उनकाअनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । 'दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो', एक प्रत्यक्षदर्शीले भने । 

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरूले जनाएका छन् । शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ । 

'आगलागी हुनुअघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए”, एक प्रत्यक्षदर्शीको भनाइ छ । राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक वक्तव्य प्रकाशित गर्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

शवगृहमा ९० भन्दाबढी शवहरू पुगेको र फ्रिटाउन वरिपरिका स्वास्थ्य केन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् । रासस