मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा - गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखनीय काम गरेको बताए ।
‘समाजमा रेडक्रसको भूमिका महत्त्वपूर्ण छ । जहाँ दुःख छ, त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रूपमा रेडक्रस परिभाषित छ । भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सधैं अगाडि बढेको नकार्न सकिँदैन,’ उनले भने ।
मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे । ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरह्यो । सबै कोभिडबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो । महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो । रगत अभावसमेत हुन दिएन । हाल केही हदसम्म भएको कोभिड नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनीय छ,’ उनले भने ।
प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रूपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने उनले प्रतिबद्धता जनाए । मन्त्री थापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताए ।
कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गरे ।उनले शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी गराए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमा झोलाबाट सञ्चालन भएको रेडक्रस क्रियाशीलताका आधारमा सोमबार यहाँसम्म आइपुगेको बताए । उनले नागरिकलाई सरल रूपमा थप सेवा प्रवाह गर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धतालाई थप विस्तार गरिरहेको बताए ।

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

प्रतिक्रिया