शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

राष्‍ट्रपति भण्डारीकाे प्रश्‍न- लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकियाे

लुम्बिनी‍- लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको सम्माननीय राष्ट्रपति  विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । आइतबार विहारक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको नेपालको गौरवसमेत रहेको बताएकी छिन् ।

 ‘म एउटै कुरा भन्छु, गौतमबुद्धको जन्म नेपालमै भएको हो,’ उनले भनिन, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावना अनुसार चल्न सक्यौँ भने निश्‍चय पनि देशको विकास हुन्छ ।’

विश्‍वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको भण्डारीको भनाइ  छ । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,' भण्डारीले भनिन्,' लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के-हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।'

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए । ‘महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगरले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहीअनुसार सहयोग गरेका हौँ ।’

अन्य विहार बनाउन विभिन्‍न देशले सहयोग गरेको देखेको शाक्यले बताए । नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको उनको भनाइ छ ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए  ।काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।