आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

१० बुँदे माग राख्दै बहिर्गमित जनमुक्ति सेनाले बुझायो ज्ञापनपत्र

काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना, नेपालले कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ । उक्त संगठनका इञ्चार्ज असीम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले शुक्रबार विभिन्न १० बुँदे माग राख्दै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर कार्यवाहक प्रधानमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । 

संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकाले सम्बोधनको पहल गरिदिन कार्यवाहक प्रधानमन्त्री खाणसमक्ष आग्रह गरे । ज्ञापनपत्र बुझ्दै खाणले मागबारे आवश्यक अध्ययन गरेर सम्बोधनको पहल गर्ने आश्वासन दिए । 

बहिर्गमित जनमुक्ति सेनाका घाइते तथा आपांगको वर्गीकरण गरी प्ररिचयपत्र प्रदान गर्नुपर्ने, सोही परिचय पत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने, विभिन्न बहानामा जेल परेका बहिर्गमितलाई निःशर्त रिहा र आममाफी गर्नुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ । वृहत् शान्ति सम्झौतापश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणीकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा परेका थिए ।