बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

बाटोमा खाल्डो देखेपछि मोरङका सीडीओले भने- पक्राउ पुर्जी जारी गर्छु

विराटनगर – मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सीडीओ दाहाले उक्त चेतावनी दिएका हुन् ।

उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएको छु,’ उनले भने, ‘समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुनअनुसार अघि बढ्छु ।’ 

केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वीमोरङ जोड्ने सिंघीया खोलाको पुलको उनले अनुगमन गरेका थिए । पुलको पिलरमा बातिले असर पुर्‍याएको तथा खाल्डा खुल्डी धेरै परेको सूचना पाउन साथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुगेका थिए ।