भिमादको ऐतिहासिक झोलुङ्गे पुल : संरक्षणका लागि छुट्याएको बजेट वर्षेनी फ्रिज

तनहुँ- करिब तीन सय वर्षको इतिहास बोकेको तनहुँको भिमादस्थित सेती नदीको झोलुङ्गे पुल बेवारिसे बनेको छ । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपुर्ण मानिए पनि संरक्षणका लागि हालसम्म कुनै काम हुन सकेको छैन । दिनानुदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिड्न प्रयोग गरिएका काठका फल्याकहरु ढोसिएर (कुहिएर) खाली भइसकेका छन् । दुई स्थानीय तह भिमाद नगरपालिका र म्यादे गाउँपालिका जोड्ने यो पुल १६ मिटर लामो छ ।
तत्कालीन राजा सुरेन्द्र वीरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाका पालामा यस पुलको निर्माण भएको हो । राजा सुरेन्द्र विक्रमले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले सात सय रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए । त्यही गुठीबाट उनले झोलुङ्गे पुल निर्माण गरेको तथ्य छ ।
पुल निर्माणका लागि जिल्लाकै ढोरफिर्दीस्थित मिनाम खानीबाट फलाम उत्खनन गरिएको थियो । पुलको शिलापत्र अनुसार उत्खनन गरेका काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको हो । पुलमा जडान गरिएका सम्पूर्ण धातुहरु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ । स्थानीय खानीको फलाम प्रयोग गरि साङ्गले झोलुङ्गे पुल बनाइएको हुनाले यसको महत्व बढी भएको देखिन्छ ।
अर्कोतर्फ स्थानीय कालिगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ । तर,संरक्षण हुन नसक्दा पुलको महत्व र आकर्षण भने घट्दै गएको छ । कमजोर बन्दै गएको लठ्ठा चुडियो भने सयौं वर्षको इतिहास बोकेको पुलको अस्तित्व मेटिने त होइन भन्नेमा स्थानीय चिन्तित छन् ।
पुलको संरक्षणमा सरकारको चासो नै नभएको भने होइन । स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार आएको दोस्रो वर्षदेखि निरन्तर बजेट परिरहेको छ । भिमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनः निर्माण शिर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिदाँ विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ । पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भीमाद नगरपालिकाले पटक–पटक गरी हालसम्म ९२ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
भिमाद नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा ६० लाख, आव २०७७/०७८ मा २० लाख विनियोजन गरेको थियो । त्यस्तै, गत वर्ष गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयबाट १२ लाख विनियोजन भएको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिइन् । उनले बजेट विनियोजन भए पनि जनशक्ति अभावमा काम हुन नसकेको बताइन् । पुलको लागि भनेर छुट्याएको बजेट काम गर्न नसकेपछि त्यसै फ्रिज भएर गईरहेको उनको भनाइ छ ।
‘आजभोलि पुलको विषयमा विज्ञता हाँसिल गरेको विज्ञहरु धेरै नै हुनुहुन्छ, तर ऐतिहासिक पुलको विषयमा कसैले पनि हात हाल्न नखोज्दा समस्या भएको छ’–उनले भनिन् । ढकालका अनुसार हालसम्म नगरले छुट्याएको ८० लाखबाट पुल प्रवेशद्धारमा १० लाखको स्वागत गेट बनाउनु बाहेक पुलकै लागि भने एक रुपैयाँ पनि खर्च हुन सकेको छैन । पुल संरक्षणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा ५१ लाख ४१ हजार रुपैयाँको डिपिआर तयार पारेको ढकालले जानकारी दिइन् । उनका अनुसार डिपिआर अनुसार प्रदेश तथा संघीय सरकारसंग बजेट माग गरी पुल संरक्षणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ ।
भिमाद नगरपालिका नगर प्रमुख मेखबहादुर थापा यस पुलसँग सम्बन्धित विज्ञता हाँसिल गरेको विज्ञ नभेटिदाँ बजेट विनियोजन गरेर पनि काम गर्न नसकिएको बताउँछन् । उनले भने–‘हामीले पुलमा काम गर्न खोज्यौ, तर पुलको लठ्ठा कहाँसम्म पुगेको छ भनेर पत्ता लगाउनै सकेनौं । अहिले पुल माथि घर बनेको छ, प्राविधिक दृष्टिकोणले पहिचान गर्न कठिन भयो । केहि भेउ पाइएन, अनि बजेट फ्रिज भएर गयो ।’
प्रमुख थापाले पुरातात्विक महत्वको विषयमा धेरै ठाँउमा सम्पर्क गर्दा पनि विज्ञ नभेटिएको बताए । ‘हामी पुल मर्मत तथा संरक्षणका लागि विभिन्न ठाउँसम्म पुग्यौ, कुहिरोमा हराएको काग जस्तो भइयो, सम्बन्धित विज्ञता हाँसिल गरेको व्यक्ति तथा संस्था भेटाउनै सकिएन । काम गर्ने इच्छाशक्ति हुदाँहुदै पनि काम गर्न सकिएन । उनले यो फलामे झोलुङ्गे पुल भिमादको मात्र नभएर देशकै सम्पत्ति भएकाले यस पुलसँग सम्बन्धित विज्ञता हाँसिलको संस्था वा व्यक्ति कोही भए सम्पर्कमा ल्याउन आग्रह गरे । उनले भने–आउनुस्, हामीलाई सम्पर्क गराइदिनुहोस्, नगरपालिका समन्वय गर्न तयार छ । अझै बजेट थपेर गर्नुपर्ने काम सबै गर्न तयार छौँ । हामी जनप्रतिनिधि पनि यस विषयको विज्ञ भएनौं । जथाभावी डोजर लगाउन पनि सकेनौं।’
पुलको संरक्षणमा निकै चासो राख्दै आएका स्थानीय ध्रुवकुमार श्रेष्ठले यसअघि ऐतिहासिक पुलको संरक्षणका लागि नगरपालिकासँग स्पष्ट स्टिमेट नहुुदाँ काम हुन नसकेको बताए । उनले भने–‘पुलको संरक्षणका लागि धेरै ठाँउ धाइयो, पुरातात्विक विभागले स्पष्ट योजना ल्याउन भन्यो । उनले कामको स्टिमेट तयार गर्न ढिला हुदाँ काम अगाडि बढ्न नसकेको बताउँछन् । श्रेष्ठले पुल भने निकै बलियो रहेको दाबी गरे । ‘लठ्ठाको बाहिरी स्वरुप फलामको साङ्लो हेर्दा अझै पनि कतै खिया समेत लागेको छैन । हाम्रो मिनाम खानीको फलाम बलियो रैछ भन्ने प्रमाण हो यो, पुर्खाले दिएको यो उपहारलाई हामीले संरक्षण गरेर राख्नुपर्छ, यो हामी सबैको गौरवको विषय हो ।’
स्थानीय फलामबाट निर्मित पुल देशभरि कतै पहिचान भइसकेको छैन । पुलको दुवै छेउका लठ्ठाहरु फलामको साङ्लाे तयार पारेर जोडिएको छ । उक्त साङ्लाे जमिनमा गाडिएको छ । पुलको साङ्लाे निकै आर्कषक छन् । यसले पर्यटकलाई लोभ्याउन सक्छ । सेती नदी माथि मोटरेवल पक्की पुल निर्माणसंगै फलामे साङ्गले झोलुङ्गे पुलको अस्तित्व हराएको हो । श्रीकृष्ण शाहीले पुल नजिकैको परिसरमा शिवजी, नारायण, शंकरेश्वरी महादेव, भगवती मन्दिर, झोलुङ्ग पुल र दुई वटा कलात्मक धर्मशाला निर्माण गरेका थिए । ढुण्डीराज शाहीले शिवजी मन्दिर निर्माण गरेको तथ्य भेटिन्छ ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रतिक्रिया