शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईको भिरबाट लडेर निधन

काठमाडौँ - हङकङमा पत्रकारिता गर्दै आएका किसन राईको भिरबाट लडेर निधन भएको छ । धरान उपमहानगरपालिका–१५ घर भई हाल हङकङमा बस्दै आएका ५३ वर्षीय राईको आइतबार साँझ  खोटाङकाे पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । उनी घुम्नका लागि खोटाङ पुगेका थिए ।

दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जानेक्रममा भीरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै राईको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर साहले जानकारी दिए । 

हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । हङकङबाट आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जनाएको छ ।