विवादकै कारण भक्तपुरको नौ सय वर्ष पुरानो पोखरी नासिने डर

भक्तपुर - वरिपरि ठडिएका ठूल्ठूला भवन । बीचमा पोखरीभरि उम्रिएका झार । पोखरीकै संरक्षणको लागि घेरिएको तारबार । यो भक्तपुरको मध्यपुर थिमिको स्वँगुगा पुखुको दृश्य हो । मध्यपुर थिमि नगरपालिकाको यो पोखरीले ऐतिहासिक महत्व बोकेको छ । तर स्थानीयबीच पोखरी पुनर्निर्माणको विषयमा उत्पन्न भएको विवादले पोखरीभरि झार र घाँसले भरिभराउ भएको छ ।
नौ सय वर्ष पुरानो यो पोखरी मध्यपुरका तीन गाउँले बनाएको स्थानीय बताउँछन् । बोडे, थिमि र नगदेशका स्थानीय मिलेर पोखरीको निर्माण गरेको स्थानीय बुढापाखा बताउँछन् । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको यस स्वँगुःगामा तत्कालीन समयमा बच्चाहरूको रुन्चे भगाउनलगायत विभिन्न विरामीहरूलाई औषधिको रूपमा पोखरीको पानी प्रयोग गरिने स्थानीय लक्ष्मी प्रजापतिले बताइन् । तर पोखरीमा पानी सुकेपछि पोखरीमा झार र घाँसले भरिएको गुनासो उनको छ ।
सुरुमा पोखरी मात्रै रहेको सो क्षेत्रमा २०३२ सालमा वडा भवन निर्माण गरिएको र २०५२ सालको माओवादी द्वन्द्वमा सो भवनमा बम प्रहार भएको स्थानीय श्यामकृणि चक्रधरले बताए । उनले बाँकी भएको केही अवशेष २०७२ सालको भूकम्पले पुरिएको जानकारी दिए । ‘पोखरी संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजनसमेत गरिसकेको छ । तर पालिकाले पोखरीमाथि भवन बनाउने भएपछि हामीले पोखरी पुनर्निर्माणमा रोक लगाएका हौँ,’ उनले भने ।
पोखरीमाथि भवन बनेपछि पोखरीको स्वरूप आउन नसक्ने र त्यसको मौलिक अस्तित्व हराउन सक्ने भएकाले पोखरी पुनर्निर्माणमा विवाद आएको उनले बताए । ‘पोखरीको संरक्षणका लागि वरिपर तारबार लगाइएको छ । समयसमयमा झारपात निकाल्ने र सरसफाइसमेत गर्दै आएका छौँ । यसका लागि संरक्षण समितिसमेत गठन गरिएको छ,’ उनले भने ।
पोखरी पुनर्निर्माणका लागि साढे दुई वर्ष अगाडि नै नगरपालिकाले बजेट विनियोजन गरी शिलान्यास गरे पनि पोखरी संरक्षण हुन नसकेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मौलिक शैलीमा पोखरीमाथि वडा भवन बन्ने गरी साढे दुई करोड बजेट विनियोजन गरिसकेको छ ।
‘स्थानीय पोखरीमा भवन बनाउने र नबनाउने भन्ने दुई पक्षमा विभाजन भए । सो विवाद अझसम्म टुंगो लाग्न सकेको छैन,’ उनले थपे, ‘पोखरी निर्माण हुन नसक्दा वडा नम्बर ६ को वडा कार्यालय भवनसमेत बन्न सकेको छैन । साँघुरो भाडाको भवनबाट सेवा विस्तार भइरहेको छ ।’
आफूलाई याद भएदेखि नै पोखरीमाथि भवन भएकाले सोहीअनुरूप पुनर्निर्माण गर्न लागिएको उनले बताए । ‘हामीले पोखरीमा भवन देखेका थियौँ । तल बच्चाहरू पौडी खेलिरहेका हुन्थ्ये,’ उनले भने, ‘पोखरीको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्न खोजेका हौं । विवादले सकेनौँ । विवाद सकिनेबित्तिकै पुनर्निर्माण सुरु गर्नेछौँ ।’

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया