आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

उत्कृष्ट पुरुष प्रशिक्षक घोषित हुँदा क्लप अचम्मित

काठमाडौं : लिभरपुल प्रशिक्षक योर्गेन क्लप फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक २०२० घोषित भएका छन् । गत वर्षपनि यस अर्वाडबाट सम्मानित भएका जर्मन प्रशिक्षक क्लपले आफ्ना निकटतम प्रतिद्वन्द्वी हान्सी फ्लिक र मार्सेलो बिएल्सालाई पछि पारे । 

गत सिजन लिभरपुललाई प्रिमियर लिग जिताएका क्लपले फिफाको प्रतिष्ठित अर्वाडले सम्मानित हुँदा अचम्मित भएको प्रतिक्रिया दिए । ‘मैले गत वर्ष पनि यो अर्वाड जितेकाले यस पटक पाउने आश थिएन । त्यसकारण मेरो नाम घोषणा म अच्चमित भए । सबैजनालाई धन्यवाद भन्न चाहान्छु,' अर्वाड पाएपछि क्लपका प्रतिक्रिया थियो। 

लिभरपुललाई च्याम्पियनस लिग पनि जिताएका क्लपले सफलताको श्रेय आफ्ना सहायक प्रशिक्षकहरुलाई पनि दिन भ्याए । ‘मैले धरैलाई धन्यवाद भन्नुपर्छ । त्यसमध्ये पनि मेरा सहायकहरुलाई, सबैभन्दा धेरै । हामीले गत सिजन जुन किसिमको सफलता प्राप्त गर्याै त्यसमा मेरा सहायकहरुको ठूलो भूमिका छ । उनीहरु बिना उपाधी जित्न सम्भव थिएन,’ क्लपले भने । उत्कृष्ट महिला प्रशिक्षक भने नेदरल्यान्ड्सकी सरिना विगमन बनिन् । 

उता बार्यनका स्ट्राइकर रोर्बट लेवेन्डोस्की फिफा उत्कृष्ट पुरुष खेलाडी घोषित भए । गत सिजन जर्मन च्याम्पियनका लागि ५५ गोल गरेका पोलिस स्ट्राइकर लेवेन्डोस्कीले अर्वाडका लागि बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । बार्यनले जर्मन बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन घरेलु कप जित्दा लेवेन्डोस्की सबै प्रतियोगितामा सर्वोच्च गोलकर्ता थिए । 

‘मेस्सी र रोनाल्डोसँगै मनोनयनमा परेर यो अर्वाड जित्दा खुशी छु । कुनैबेला मलाई यस्तो प्रतिष्ठित अर्वाडको नजिक पुग्ने तर नजित्ने खेलाडीका रुपमा चित्रित गरिन्थ्यो तर यस पटक भने मैले जित्ने मौका पाए । मेहेनत गरे सोचेको सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छु,’ गत बुधबार दुई सय पचासौं गोल गरेका लेवेन्डोस्कीले भने । 

त्यस्तै, लुसी ब्रोन्ज फिफा उत्कृष्ट महिला खेलाडी घोषित भईन् । गत सिजन फ्रेन्च क्लब लियोनबाट चार उपाधी जितेकी ब्रोन्ज यसै सिजन म्यानचेस्टर सिटी आएकी हुन् । ब्रोन्जले लियोनको जर्सीमा फ्रेन्च लिग, च्याम्पियन्स लिग र घरेलु कपको उपाधी जितेकी थिईन् । 

बार्यनकै म्यानुएल नुयर वर्षको उत्कृष्ट पुरुष गोलरक्षक घोषित भए । बार्यन कप्तान नुयरले लिभरपुलका एलिसन र एथलेटिको म्याड्रिडका जान ओब्लाकलाई पछि पारे । यसै विधामा महिला तर्फको उपाधी लियोनकी साराह बौहादीले प्राप्त गरिन् । त्यसैगरी, टोटनहमका ह्युङ मिन सनले पुस्कास अर्वाड प्राप्त गरे । गत सिजन बर्नलीविरुद्ध उनले गरेको गोल वर्षकै उत्कृष्ट गोल घोषित भयो ।