सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सहमति लत्याउँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्‍ बैठक

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ दल नेकपामा विवाद सल्टियो भनिरहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको सहमति लत्याउँदै पुनः बिहीबार साँझ ५:३० बजे संवैधानिक परिषद्‍ बैठक बोलाएका छन् । उनले परिषद्‍ बैठकको लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेको कांग्रेस नेता रमेश लेखकले इकागजलाई जानकारी दिए । यो बैठकलाई उनीहरुले समापन बैठकको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुग्यो । तर सोही दिन बेलुका अध्यादेश पछि नयाँ बैठक बस्यो । उक्त बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्ष रहेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख दुवैको सहभागिता त्यसमा रहेन ।

त्यसपछि बुधबार सत्तारुढ दलका पुष्पकमल दाहाल र माधव नेपाल पक्षधरले राष्ट्रपतिसँग विशेष अधिवेशन माग गरेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्ने र दाहाल, नेपालले संसद अधिवेशनको माग फिर्ता गर्ने सहमति भएको थियो । तर, बिहीबार परिषद् बैठक बोलाएपछि त्यो सहमति के हो भन्‍ने अन्यौल भएको छ ।