बेनी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प

म्याग्दी - तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ शय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिकबाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।
बहिरंग, ल्याब, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । स्टाफ नर्स मनदेवी गौतमले ठूला चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् ।
'अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो', उनले भनिन्, 'अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौँ । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।'
आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगंगा गाउँपालिका- ३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताए ।
अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुईवटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोकिएको अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।
लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखापरीक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भए पनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनीका, अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच छलफल गरेर सेवा नियमित गराउन पहल गरेको प्रमुख डा. कँडेलले बताए ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रतिक्रिया