सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

राप्रपाको आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानका विषयमा देशव्यापी पदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त आन्दोलनका कार्यक्रम घोषणा गरेको अध्यक्ष पशुपति शमशेर राणाले जानकारी दिए ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार पुस १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाइने छ । पुस १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटर साइकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राणाले बताए । पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्‍चालन गर्ने पार्टीले जनाएको छ ।

त्यस्तै बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बोलाउने निर्णय पनि बैठकले गरेको छ ।