पोखराको फिर्केः स्थानीयलाई पुल पनि चाहिने, काम गर्न चाहिँ नदिने !
महानगर र स्थानीयबाट असयोग भएपछि आफूले काम गराउन नसकेको ठेकेदारको भनाइ

पोखरा – सिद्धार्थचोकमा आइतबार बिहान एक हुलले सडक रोक्यो । सिद्धार्थचोक र पस्र्याङ जोड्ने फिर्के खोला पुल नबनेको भन्दै हुलले सडक रोकेको थियो । हुलले पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोला र पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीलाई कालोमोसो धस्नेसम्मको नारा लगायो ।
बिहान ११ बजे गरिएको विरोध प्रदर्शनमा गएर यी दुई वडाध्यक्षले फिर्केखोला पुल निर्माणलाई तीव्रता दिन पहल गर्ने वाचा गरे । महानगरका प्रवक्तासमेत रहेका नेपालीले सोमबार बिहानबाट नै काम थाल्ने र काम पूरा नभए महानगरले जिम्मा लिने प्रतिबद्धता जनाए । दुवै वडाध्यक्षले पुल निर्माणलाई जतिसक्दो छिटो बढाउनुका साथै तत्कालका लागि गर्न सकिने वैकल्पिक उपाय पनि सुझाए । नेपालीले पैदलयात्रुको सहजताका लागि अस्थायी बाटो बनाउनेसम्मको योजना सुनाए ।
वडाध्यक्षका प्रतिबद्धताले पनि विरोध प्रदर्शन रोकिएन । पुल निर्माण सुरु नगरे वडा कार्यालयमा तालाबन्दी गर्नेदेखि वडाध्यक्षलाई बाटोमा कालोमोसो धस्ने घोषणा भीडले ग¥यो । ठेकेदार कम्पनीका प्रतिनिधि आएपछि छलफलका लागि भन्दै वडाध्यक्षद्वय महानगर लागे । महानगरमा वडाध्यक्षद्वय, महानगरका इन्जिनियर नेत्र तिमिल्सिना, प्रशासन महाशाखाका भरतराज पौडेलले ठेकदार कम्पनीका प्राविधिकसँग स्पष्टीकरण सोधे । वडा ४ का वडाध्यक्ष बास्तोलाले ठेकदार कम्पनीले काम नगर्दा दोष आफूहरुले बोक्नुपरेको गुनासो गरे । ‘हामी त सहजीकरणका लागि बसेका हौं, ठेक्का लगाएको महानगरले हो, काम गर्ने ठेकदारले । तर काम नहुँदा हामीले नै दोष बोक्नुपर्छ,’ बास्तोला कड्किए ।
वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले कुनै बहानामा काम रोकिनु नहुने तर्क गरे । ठेकेदार कम्पनीले जनता रुवाउने काम गरेको उनको आरोप थियो । ‘तपाईंहरू काम नगर्ने, कालोमोसो दलिने डर हामीलाई हुने । कालोमोसो त काम नगर्ने तपाईंहरूलाई दल्ने कि हामीलाई ?’ नेपालीले प्रश्न तेस्र्याए ।
महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले पनि ठेकदार कम्पनीलाई दोष देखाउँदै ठेक्का अवधि थप्न नसकिने बताए । सोमबार बिहानसम्म ‘वर्क सेडयुल’ बनाएर दिनुपर्ने, कुनै बाहानमा काम नरोकेमात्र म्याद थपको प्रक्रिया थाल्न सकिने बताए ।
सिद्धार्थचोक र पस्र्याङ जोड्ने फिर्के पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभीले पाएको थियो । अगस्ट २०१९ मै ठेक्का सम्झौता भएर १५ महिनामा सक्नुपर्ने भएपनि काम अहिलेसम्म सकिएको छैन । उल्टै पहिलो पटक थपिएको ६ महिने म्याद पनि कटिसकेको छ । शान्ति आरोग्यले ४ करोड ५५ हजारमा ठेक्का पाएको थियो ।
महानगरका प्रतिनिधिसँग ठेकदार कम्पनीका प्राविधिक रामनारायण यादवले भने यथास्थितिमा काम गर्न नसक्ने जवाफ दिए । महानगर र स्थानीयबाट असयोग भएपछि आफूले काम गराउन नसकेको यादवले बताए । ‘लकडाउन भो, वर्षा सकियो ती कुरा सकियो । पब्लिकको कारण काम गर्न नसकेर आज यसरी फेस गर्नुपरेको छ,’ यादवले बताए । १ दिन काम गरेपछि ५ दिन काम नगरी बस्नुपर्ने भएपछि काम पूरा गर्न नसकेको उनको अनुभव छ । महानगरले सुरक्षा दिने र ठेकदार कम्पनीले काम सुचारु गर्ने सहमतिपछि यादवले काम सुरु गर्न निर्देशन दिए । साढे १ बजे यादवले महानगर कार्यालयबाट नै कर्मचारीलाई निर्देशन दिएपछि एक्साभेटर फिल्डमा आयो ।
स्थानीयकै अवरोध
फिर्के पुल निर्माणको काम सुरु भएको ५ मिनेट पनि भएको थिएन । पुल निर्माणको पारिपट्टि स्थानीय दीपक मुल्मीको घरमा सीता फर्निचर उद्योग चलाइरहेका पुरुष बाहिर निस्कन्छन् । हतास देखिएका ती पुरुषले फोन गरिरहन्छन् । उनले फोन दीपक मुल्मी र भाइ प्रदीप मुल्मीलाई गरेका थिए । प्रदीप मुल्मी आएपछि भने ती पुरुष पनि आक्रोशित मुद्रामा प्रस्तुत हुन्छन् । तल ठेकदार कम्पनीको एक्साभेटरले भर्खर खन्न सुरु गरेको थियो । प्रदीप मुल्मी र ती फर्निचर व्यवसायी गएर एक्साभेटर सञ्चालकसँग गालीगलौज गर्छन् ।
काममा अवरोध गरेपछि ठेकदार कम्पनीका रामनारायण यादवले पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपाली लगायत महानगरको टोलीलाई खबर गरे । प्रदीप मुल्मी आएर विरोध गरेपछि काम रोकिन्छ । पछि प्रदीपका दाइ दीपक पनि निर्माणस्थल आइपुग्छन् । मुल्मी दाजुभाइ गएर प्राविधिकसँग सवाल जवाफ गर्छन् ।
‘मैले नबुझेको कुरा, यादव तिमी यहाँ बनाउन आएको कि बिगार्न ? तिमीले त्यहाँको माटो तानेपछि माथिको घर खस्छ कि खस्दैन ?’ दीपक मुल्मी सुरुमै यादवलाई प्रश्न गर्छन् । मुल्मी यतिमै रोकिँदैनन् । भन्छन्, ‘महाकाली नदीमा पुल हालेको हो ? खुला ठाउँमा ? भौतिक अवस्था कति बिग्रिएको छ ?’
मुल्मी दाजुभाइले यादवलाई लगातार प्रश्न तेस्र्याइरहे । यादवले खोलामा राखिएको ह्युमपाइपको दुईतर्फै खोल्नुपर्ने भएकाले काम गर्न लागेको र त्यसको ‘क्लियरेन्स’ का लागि माटो खार्नु परेको उत्तर दिए । मुल्मीसँगै यादवलाई प्रश्न गर्न थपिन्छन्, अर्का स्थानीय मधु कोइराला । कोइराला आइतबार बिहान सिद्धार्थचोकमा भएको विरोध कार्यक्रममा पनि उपस्थित थिए, पुल तत्काल नबनाए कारबाही गरिनुपर्ने माग सहित । तर पुल निर्माणको काम चलिरहेका बेला उनी पनि ठेकदार कम्पनीमाथि नै खनिए ।
‘चोर तरिकाले काम गरेर हुन्छ, यता (पस्र्याङ) पट्टिको माटो पुरै खस्ने गरेर डोजर लगाएछन्, यसरी पुल बनाएर के गर्ने हो ?’ उनको प्रश्न थियो । यस्तै बिहान सिद्धार्थचोकमा भएको विरोध प्रदर्शनमा पुल बनाउनुपर्ने नबनाए वडा कार्यालयमा ताला लगाइदिने धम्की दिएका एक व्यवसायीले दिउँसो निर्माणस्थलमा भने पुल नबनाए पनि हुने सम्म भन्न भ्याए । ‘पुल बनेन भने हामी आज त बन्द ग¥र्यौं, भोली वडा कार्यालय पनि बन्द गर्छौं,’ बिहानको आफ्नै कुरा उल्ट्याउँदै दिउँसो भने, ‘पुल नबनाए पनि, १ वर्षसम्म नबनाए पनि केही छैन, पहिला बाटो बनाउनुप¥यो ।’
विरोधमा उत्रने प्रमुख व्यक्ति भने दीपक मुल्मी र उनका भाइ प्रदीप मुल्मी हुन् । निर्माणाधीन पुलको छेउमा दीपकको घर छ । पुलका लागि भित्ता खन्दा आफ्नो घर नै भत्कन लागेको भन्दै उनले विरोध गरेका हुन् । ‘घर चर्किसक्यो, एकपटक होइन, दुई पटक होइन, अझै कति सहने ? अब जोसँग लड्न परेपनि लड्छ्, त्यहाँको माटो खोस्रनु भनेको अब मलाई खोस्रनु हो,’ दीपक जंगिए ।
महानगर, वडा, प्रहरीको डर देखाएर आफूलाई ठगिएको दीपकको आरोप थियो । पुल बन्नुपर्ने तर पुलको डिजाइन नै गलत गरी गराइएको भन्दै उनले पुल एकातिर र खोला एकातिर रहेको पनि भन्न भ्याए । पुल निर्माणको जग बसिसकेको छ । पुलको रिटेनिङ वाल लगाउनका लागि दीपकको घरमुनिको जग्गा केही खोल्नु पर्ने भएकाले काम भइरहेका बेला दीपक र उनका भाइ प्रदीपले तगारो हालेका हुन् । उनीहरू काम रोक्दै पुल निर्माणमा पूर्ण सहयोग रहेको दाबीसम्म गर्न भ्याए । ‘पुल बनाउन हामीले कति सहयोग गरेका छौं, तर महानगरले हाम्रो कुरा सुनेन । महानगरले स्थानीयको कुरा नसुनी कसरी काम बढाउँछ,’ दीपकले भने ।
एक स्थानीयले नाम नबताउने सर्तमा दीपक मुल्मीले त्यो खोला नजिकै पहिला कारबास सञ्चालन गरेको र पछि त्यो पनि हटाउनुपरेपछि आक्रोशित रहेको आरोप लगाए । ‘पुल बनेको उनीहरु (मुल्मी)को जग्गामा होइन । सहयोग भन्दा असहयोग बढी गरेका छन् । खोला पुरेर कार वास अनि अरू व्यवसाय गरेका थिए, बन्द भएपछि आक्रोशित छन्,’ उनको आरोप छ ।
स्थानीयले विरोध जनाएपछि महानगरका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष धनबहादुर नेपाली आक्रोशित बने । पुल बनाउन स्थानीयले नै सहयोग गर्नुपर्नेमा महानगर र वडाले पैसा खाएर काम नगराएको आरोप लगाउन थालिएको उनको गुनासो थियो । ‘हामी काम गर्न तयार छौं, पुल पहिला बनाउने हो कि अस्थायी पुल पहिला बनाउने हो कि ? हामीलाई केही छैन, महानगरको २÷४ लाख जान्छ त्यही हो,’ नेपालीले भने । विकासको काम गर्दा कसैको जग्गा पर्ने र त्यसैलाई विषय बनाएर काम रोक्न नपाइने उनको तर्क छ । ‘छोइन्छ त विकासको काम गरेको हो, छोइन्छ । डाडुले तरकारी झिकेझैं गर्ने हो र ? अलिअलि छोइन्छ, निजी जग्गा प¥यो भने महानगरले क्षतिपूर्ति दिन्छ,’ नेपालीले थपे ।
वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले काम नभएको भन्दै विरोध पनि गर्ने र काम पनि गर्न नदिने दोहोरो चरित्र नदेखाउन आग्रह गरे । ‘बिहान विरोध गर्ने अनि अहिले काम गर्न नदिएर भएन । पहिला प्राथमिकता पुललाई बनाऔं, अस्थायी बाटो चाहिए पनि बनाऔं,’ वडाध्यक्ष बास्तोलाले भने ।

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

प्रतिक्रिया