बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

जेफ बेजोसकी पूर्वपत्‍नी मेकेन्जी स्कटद्वारा चार महिनामा चार अर्ब बढी दान

काठमाडौं : अमेजन कम्पनीका संस्थापक जेफ बेजोसकी पूर्वपत्‍नी मेकेन्जी स्कटले चार महिनामा चार अर्ब २० करोड अमेरिकी डलर दान गरेकी छिन् । स्कटले तीन सय चौरासी संघ सस्थालाई त्यति रकम उपलब्ध गराएकी हुन् । 

निरन्तर विभिन्‍न किसिमका परोपकारी कार्यमा धन खर्च गर्दै आएकी विश्‍वकै १८ औ धनी स्कटले मंगलबार प्रकाशित ब्लगमा आफूले विभिन्‍न ‘फुड ब्यांक’ र आपतकालिन कोषमा रकम दान गरेको जानकारी दिएकी छन् । गत जुलाईमा पनि स्कटले अमेरिकाका एक सय १६ संघ संस्थालाई एक अर्ब सात सय करोड अमेरिकी डलर दान गरेकी थिइन । 

‘कोभिड-१९ महामारीका कारण अमेरिकीहरूको जीवन कष्टकर बनेको छ । विशेषगरी गरिबीको रेखामुनी रहेका अमेरिकी नागरिक, त्यसमा पनि महिलाहरू काभिडका कारण अफठ्यारोमा छन् । तर यही बेला विश्‍वका धनी अर्बपतिहरूको सम्पत्ति बढिरहेको छ,’ स्कटले सामाजिक सञ्‍जाल मिडियामा लेखेकी छिन् । 

स्कटले सिमान्तकृत, गरिबको उत्थानमा काम गर्ने सस्थाहरू, अधिकार समूहहरूलाई दान दिएकी हुन् । उपन्यासकारसमेत रहेकी स्कटले आफ्नो समूहले अमेरिकाका ६ हजार ९ सय ९० सस्थाहरूको सूची तयार गरेको र त्यसमध्येबाट केही सयलाई छनौट गरी दान दिएको बताइन् ।

ब्लुमबर्गका अनुसार स्कटको सम्पत्ति ६० अर्ब भन्दा धेरै छ । कोरोना महामारीमा समेत अमेरिकी कम्पनी अमेजनको शेयर भाउ बढेपछि स्कटको सम्पत्ति बढेको हो । कोभिड महामारी सुरु हुनुअघि उनको कुल सम्पत्ति २३ अर्ब ६० करोड थियो । सन् २०१९ मा बेजोससँग सम्बन्ध बिच्छेद गर्दा स्कटले अमेजनको शेयर प्राप्त गरेकी थिइन् ।   
स्कटले वारेन बफेट, बिल गेट्सलगायतका अर्बपतिहरूले सञ्चालन गरिरहेका परोपकारी कार्यहरूमा दान गर्दै आएकी छिन् । 

अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरुको सहयोगमा