मानव अधिकार उल्लंघनका घटनामा आम माफी हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दश वर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आम माफी नहुने बताएका छन् । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले न्यायको अनुभूति पीडित गराउने गरी सरकारले काम गरिरहेको बताए । “बााहिर आशङ्का गरिएजस्तो गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आम माफी हुँदैन,” ज्ञवालीले भने, “पीडितले न्याय नपाउँदासम्म सङ्क्रमणकालीन न्याय पूरा हुँदैन, त्यसका लागि सरकारले काम गरिरहेको छ ।”
उनले न्याय पैसासँग साट्ने नभएको स्पष्ट पार्दै परिवारका सदस्यको सहयोगका लागि परिपुरणको माध्यमबाट सहयोग गर्न खोजिएको बताए । मन्त्री ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गर्न सबै दललाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
दुवै आयोगको ऐन संशोधन गर्न गत वर्ष सातै प्रदेशमा द्वन्द्वपीडितसँग छलफल भइसकेको उल्लेख गर्दै उनले संसद्को आगामी हिउँदे अधिवेशमा दुवै आयोगमा ऐन आउने जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सरकारले पीडितको भावनाअनुसार शान्ति प्रक्रियाको बाँकी कुरा पूरा गर्ने तयारी गरिरहेको छ ।
ज्ञवालीले नेपालको शान्ति प्रक्रिया आफैँमा विशिष्ट प्रकृतिको भएको हुँदा नेपाल आफैँले समस्याको समाधान गर्ने उल्लेख गर्दै भने, “शान्ति प्रक्रियाको दुई काम पूरा भएको छ, सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको छ, पीडितलाई न्यायको अनुभूति नदिलाउँदासम्म सङ्क्रमणकालीन न्याय टुङ्गिँदैन ।” जवाफदेहिता निगरानी समितिमा संयोजक चरण प्रसाईंले र द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष मैना कार्कीले सङ्क्रमणकालीन न्यायको उचित संशोधन गरी पीडितलाई न्याय दिन माग गरे । (रासस)
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया