आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

प्रजातन्त्र सेनानी श्रेष्ठ रहेनन्

काठमाडौं : प्रजातान्त्रिक आन्दोलन सेनानीका रुपमा पहिचान कमाएका नेपाली कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका साहसिक योध्दाका रुपमा चिनिएका श्रेष्ठ कांग्रेसको पूर्व केन्द्रीय सदस्य हुन् । उनी २०१४ देखि कांग्रेसले आह्वान गरेको हरेक आन्दोलनमा अग्रमोर्चा रहेर संघर्ष गरेका थिए ।

उनी २०१९ मा पञ्चायती व्यवस्था ध्वस्त पार्ने र दरबारमै बम पड्काउने योजनामा संलग्न भएको अभियोगमा ११ वर्ष निरन्तर जेल परेका थिए । त्यसपछि पनि पटक–पटक गरी चौध वर्ष जेलमै जीवन बिताए । पूरै जीवन प्रजातान्त्रिक आन्दोलनमा ब्यतित गरे पनि प्रजातन्त्र स्थापनापछि शासकीय पद भने पाएनन् ।

कांग्रेसका नेता लोकेश ढकाल ‘श्रेष्ठलाई प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श, निष्ठाका निम्ति उदाहरणीय व्यक्तित्व’ ठान्छन् । उनले भने, ‘श्यामलाल दाईले कहिल्यै छक्का पन्जा गर्नुभएन । कुनै गुटमा पनि लाग्नु भएन । विवेकले देखेको बोल्नुहुन्थ्यो । सरल भएकै करण पद पनि पाउनुभएन ।’