बिहेपछि महिलामा हुने ‘एडजस्मेन्ट डिसअर्डर’
डिभोर्सदेखि ज्यानै जानेसम्मका घटना

घटना १
मैले बेकार बिहे गरेँ भन्दै एक महिला केही समयअघि काउन्सिलिङको लागि आइन् । बिहे गरेकोमा उनलाई निकै पछुतो थियो । समाजको अगाडि धुमधामले बिहे गरेकी उनलाई त्यही बिहे ‘टोक्नु न बोक्नु’ भएको थियो । उनी न बिहे तोड्ने अवस्थामा थिइन्, न अंगाल्ने नै । उनका अनुसार उनको माइती र घरको वातावरण बिलकुलै विपरीत थियो । परिवारका सदस्यको व्यवहार पनि फरक ।
बिहे गरेर गएको दिनदेखि नै उनलाई एडजस्ट हुन गाह्रो परिरहेको थियो । बिहेअघि स्वतन्त्र भएर काम गरिरहेकी उनलाई कडिकडाउ गर्ने खालको घर परेको रहेछ । उनी ‘मलाई त्यस घरमा उकुसमुकुस हुन्छ’ भन्थिन् । मागी बिहे भएकाले घर परिवारको बारेमा पनि उनले खासै बुझेकी रहिनछिन् । बिहे गरेको एक वर्षसम्म जसोतसो बसेकी उनी मानसिक रुपले निकै विक्षिप्त अवस्थामा आइपुगेकी थिइन् ।
घटना २
केही दिनअघि एक जोडी दम्पती काउन्सिलिङको लागि आए । उनीहरू दुवैले मनोचिकित्सकको सल्लाहअनुसार औषधि खाइरहेका रहेछन् । १४ वर्षे वैवाहिक जीवन बिताएका उनीहरूका तीन छोराछोरी छन् । निन्द्रा नलाग्ने, मनमा कुरा खेल्ने र श्रीमान् श्रीमतीबीच दिनहुँजसो झै-झगडा हुने उनीहरूका प्रमुख समस्या थिए ।
कुरा बुझ्दै जाँदा श्रीमतीलाई ‘एड्जस्टमेन्ट डिसअर्डर’ भएको रहेछ ।
पाँच दाजुभाइ र उनीहरूका श्रीमती एकैठाउँमा बस्ने रहेछन् । परिवारमा कोही सदस्य काम गरेको गर्यै , कोही भने मोबाइलमा मस्त भएपछि उनी असन्तुष्ट रहिछन् । परिवारसँग छुट्टिएर बस्ने उनको चाहना थियो । श्रीमान् परिवार छाडेर बाहिर बस्न मानिरहेका थिएनन् । यत्तिकैमा दुवैमा विभिन्न शारीरिक र मानसिक समस्या देखिएछ । हुम्ला, सिमिकोटबाट आएका उनीहरू अहिले उपचारको लागि भौतारिरहेका छन् ।
के हो ‘एड्जस्टमेन्ट डिसअर्डर’ ?
एड्जस्टमेन्ट डिसअर्डर अर्थात् समायोजन विकार भनेको समाहित हुन वा घुलमिल हुन नसक्ने समस्या हो । कुनै कुरा आफूले सोचेजस्तो नहुँदा यस्ता समस्या देखिन्छ । यो समस्या पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ ।
यो समस्या महिलालाई बढी हुनुका विभिन्न कारण छन् । नेपालजस्तो देशमा अधिकांश महिला बिहेपछि अरुको घरमा जानुपर्ने हुन्छ । एउटा वातावरणमा २५–३० वर्ष हुर्किएका उनीहरूलाई अरुको घरमा जाँदा एडजस्ट हुन गाह्रो हुन्छ । जसकारण कतिपय दम्पती सम्बन्ध विच्छेदको निर्णयसम्म पुग्छन् । हाम्रो समाजमा सम्बन्ध विच्छेदको कारणमध्ये एक एडजस्टमेन्ट डिसअर्डर पनि हो ।
मानिसहरूले आत्महत्या गर्ने पहिलो कारण डिप्रेसन मानिन्छ । त्यसपछिको दोस्रो कारण भनेको एडजस्टमेन्ट डिसअर्डर हो । आत्मनिर्भर हुन् वा परनिर्भर सबै खालका महिलालाई यो समस्या छ । एड्जस्टमेन्ट डिसअर्डर बिहे गरेर गएको घरमा यातना दिएर मात्र हुने होइन । परिवारका सदस्यले गर्ने व्यवहार, त्यहाँको वातावरण, हुर्काइ, सिकाइ र व्यक्तित्वले पनि फरक पर्छ ।
बिहेपछि आइपर्ने जिम्मेवारी, करिअरमा आइपर्ने बाधा र अड्चनले पनि धेरै महिलालाई यो समस्या देखिन्छ । बुहार्तन खेप्नुपर्ने ठाउँमा, कुलतमा फसेको श्रीमान् पर्दा, पैसाको तुजुक लगाउने परिवारमा महिलाहरूलाई एड्जस्ट हुन गाह्रो हुन्छ । यस्तो बेला उनीहरू न माइत नै जान सक्छन् न बिहे गरेको घरमा नै उनीहरू माइती जसरी बस्न सक्छन् ।
बिहेपछि मात्रै नभएर कतिपय महिलामा बच्चा जन्माइसकेपछि पनि एड्जस्टमेन्ट डिसअर्डर हुन्छ । उनीहरू विगतको स्वतन्त्र जीवन, साथीभाइ आदि सम्झिन थाल्छन् । सहयोगी श्रीमान् परेन भने त झन् उनीहरूलाई धेरै नै गाह्रो हुन्छ । बिहेप्रति नै उनीहरूको नकारात्मक धारणा बन्छ । प्रेम विवाहभन्दा मागी विवाहमा यो खालको समस्या धेरै हुन्छ ।
सामान्य होइन ‘एड्जस्टमेन्ट डिसअर्डर’
घरमा श्रीमतीले मलाई एड्जस्ट हुन गाह्रो भइरहेको छ भन्दा धेरैको यत्तिकै टार्ने बानी हुन्छ । सुरु सुरुमा यस्तै हो भनेर धेरैले भन्छन् । कसैले गाह्रो भएको छ भन्छ भने उसले साँच्चै गाह्रो भएर भनेको हो । बिहेपछि अलि-अलि एडजस्टमेन्टको समस्या हुनु सामान्य हो । समय र परिस्थितिअनुसार कतिपय त्यही वातावरणमा घुलमिल हुन थाल्छन् । तर, सबैजना घुलमिल हुन सक्दैनन् । सामान्य रुपमा लिइने यो समस्याको परिणाम निकै खतरनाक हुन्छ ।
यो एकदमै बहस गर्नुपर्ने विषय हो । यस्तो समस्यामा परेका व्यक्तिहरूले आत्महत्याको बाटोसमेत रोज्ने गरेको पाइन्छ । उनीहरूमध्ये धेरैजनामा छटपटी हुने, रुन मन लाग्ने, चिटचिडाहट हुने, धेरै सोच्ने, अल्छी लाग्ने, निन्द्रा नलाग्ने हुन्छ । कतिजना आफ्नो निर्णयको पश्चातापले पनि पिरिन्छन् । जिन्दगी नै बर्बाद भयो भन्ने ठान्छन् । आफैंले आफैलाई हानी गर्छन् ।
त्यस्ता समस्या भएकालाई कसले सहयोग गर्ने ? कसले बुझिदिने ? हाम्रा केही हजुरआमा, आमा, काकीहरू माइत बसे । त्यसको कारणमध्ये एक एडजस्टमेन्ट डिसअर्डर पनि हो । यो साह्रै संवेदनशील समस्या हो । तर, सामान्य रुपमा लिएर धेरैले बिहे गरेर आएको सुरु सुरुमा हामीलाई पनि यस्तै भएको थियो भनेर टारिदिन्छन् ।
यस्तो अवस्था आउन नदिनको लागि परिवारले उसको कुरा सुनिदिनुपर्छ । उसलाई ‘जज’ गर्नुहुँदैन । यसो गर, त्यसो गर भनेर सिकाउनु हुँदैन । परिवारको भूमिका भनेको एड्जस्ट हुन सजिलो बनाइदिने हो । ऊ माइतीमा कस्तो खालको वातावरणमा हुर्किएको छ विचार गर्ने हो । रमाइलो माहोल बनाइदिने हो । घुमने लैजाने हो । कुनै पनि हालतमा एड्जस्ट भएर बस्ने अवस्था छैन भने छुट्टै बस्ने वातावरण मिलाइदिनुपर्छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया