शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बालुवा संकलनको अनुमति पाएपछि मेलम्चीका मजदुर खुसी

सिन्धुपाल्चोक – सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका वडा नम्बर १३ का स्थानीय आन्दोलित भएका छन् । उक्त माग राख्दै वडा अध्यक्ष, वडा सदस्य, राजनितिक दलका प्रतिनिधि र मजदुरहरूको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाको छ ।

ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन् गर्न पाउनुपर्ने र वडा नम्बर १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निमार्णमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दंगालले बताए ।

स्काइभेक्टर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्न दिइएको तर मजदुरहरूले सावेल प्रयोग गरेर वालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसंगत नरहेको भन्दै मजदुरहरूले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।  ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइए तर सावेल चलाएर बालुवा संकलन गर्न सकिने जानकारी दिएको दंगालको भनाइ छ ।

उनले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भन्दै तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिम जानकारी दिएको उनले बताए । नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा संकलन गर्न दिने निर्णय गरेपछि यही पेशाको कमाइबाट रोजिरोटी गर्दै आएका आदिबासी माझी तथा दनुवार समुदायका मजदुरहरुले खुसी व्यक्त गरेका छन् ।