मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

अर्जेन्टीनाले लगायो कोरोना कर, ३.७५ अर्ब डलर जुट्‍ने अनुमान

अर्जेन्टीनाले कोभिड-१९ भाइरसको प्रकोप रोक्नका लागि धनीमानी नागरिकलाई कर लगाउने भएको छ । कोभिड-१९ नियन्त्रण तथा राहत कार्यक्रमलाई स्रोत व्यवस्थापन गर्न कर लगाउने भएको हो । अल्बर्टो फर्नाडीज नेतृत्वको सरकारले यो करबाट ३ अर्ब ७५ करोड अमेरिकी डलरको स्रोत जुट्ने अपेक्षा गरेको छ ।
 
यो करले अर्जेन्टीनाका १२ हजार धनी नागरिक प्रभावित हुने बताइएको छ । त्यहाँको संसद्ले यो कर सम्बन्धी विधेयकलाई पारित गरेको हो । यसबाट प्राप्त हुने राजस्वलाई कोरोना भाइरसविरुध्द कार्यक्रममा उपयोग गर्नेछ । मेडिकल सामग्री आपूर्ति तथा गरीब र साना व्यवसायीलाई राहत वितरणमा खर्चिने बताइएको छ ।
 
यो कर सम्बन्धित विधेयकमा सीनेटमा भइरहेको चर्चालाई युट्यूबमा लाइभ देखाएको थियो । लामो समयसम्म चलिरहेको चर्को बहसपछि मतदान भएको थियो । मतदानमा ४२ सांसद्ले यसको पक्षमा मतदान गरेका थिए भने २६ जनाले विरोधमा मतदान गरेका थिए । चेम्बर अफ डेप्युटीजले यसअघि नै १ सय १५ मा १ सय ३३ भोट दिइसकेको छ ।
 
यो योजना अनुसार २० करोड डलरभन्दा बढी घोषित सम्पत्ती भएका नागरिकका हकमा लागू हुनेछ । उनीहरुले देशको सम्पत्तीका हकमा ३.५ प्रतिशत र विदेशी सम्पत्तीको हकमा ५.२५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । यसबाट प्राप्त हुने राजस्वमा २० प्रतिशत मेडिकल सामग्री आपूर्ति, २० प्रतिशत साना तथा मझौला व्यवसायीलाई राहत वितरणमा, १५ प्रतिशत सामाजिक विकास कार्यक्रम, २० प्रतिशत छात्रावृत्ति कार्यक्रमममा र २५ प्रतिशत प्रकृतिक ग्याँस उत्सर्जनमा खर्च गर्ने उल्लेख छ । 

कोरोनाको मार
अर्जेन्टीनाका ४.४ करोड जनसंख्या कोभिड-१९ बाट प्रभावित छन् । जोन हपकिंस युनिभर्सिटीको आँकडा अनुसार देशमा १४ ला भन्दा बढी कोरोनाका केस आइसकेको छ भने ३९ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु समेत भइसकेको छ ।
 
महामारीले अर्जेन्टिनामा बेरोजगारीको संख्या र गरीबीको दर बढेको छ । यो देश यसअगाडी २०१८ मा आर्थिक मन्दीबाट ग्रसित थियो ।