'नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ'

काठमाडौँ- नेपालस्थित अमेरिकी राजदूतावासकी राजनीतिक तथा आर्थिक परामर्शदाता क्याथरिन एम लियीले नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै यो नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेकी छन् ।
अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को १८औँ मेम्बर लर्निङ सिरिजअन्तर्गत नियोटेरिक नेपालले आयोजना गरेको कार्यक्रममा लियीले नेपालको सूचना प्रविधि क्षेत्रको रुपान्तरण प्रविधिक प्रगतिमा मात्रै सीमित नभएको उल्लेख गर्दै काठमाडौँ लगायतका शहरी क्षेत्र आईटी हबका रूपमा विकसित भइरहेको धारण राखिन् । “नेपाली युवाको दक्षता तथा सिर्जनशीलतालाई विश्वभरका कम्पनीहरूले उच्च मूल्याङ्कन गरेका छन्, सूचना प्रविधि ठूलो सम्भावना भएको क्षेत्र हो”, उनले भनिन् ।
लियीले नेपालको डिजिटल नेपाल फ्रेमवर्क, इन्टरनेट पहुँच विस्तार, सार्वजनिक–निजी सहकार्य र युवा पुस्ताको नवीनताप्रतिको आकर्षणलाई नेपालको सूचना प्रविधिको विकासका महत्वपूर्ण आधारस्तम्भका रूपमा उल्लेख गरिन् ।
लियीले हालै नेपालमा लागू हुन थालेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताको प्रारम्भिक परियोजनाले पनि आईटीसहित अन्य क्षेत्रलाई बलियो बनाउने बताइन् । उनले भनिन्, “ऊर्जा पूर्वाधारको विकासबिना आईटी क्षेत्रको विकास सम्भव छैन, त्यसैले अमेरिकाले नेपालको पूर्वाधार विस्तारमा गरेको सहकार्यले आईटी क्षेत्रमा समेत टेवा पुग्नेछ ।”
उनले प्रविधिको उपयोग प्राकृतिक विपद् व्यवस्थापनमा पनि अपरिहार्य भएको उल्लेख गर्दै नेपालले यस क्षेत्रमा देखाएको पहलको प्रशंसा गरिन् । साथै, आईटी क्षेत्रमा मानव संसाधन विकास, शिक्षा–प्रशिक्षण र युवालाई सशक्त बनाउने उद्देश्यले तालिम तथा साझेदारी कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
लियीले भनिन्, “अमेरिकी दूतावास नेपालका व्यवसायी र संस्थासँग सहकार्य गरेर प्रविधि, नवीनता र समृद्ध नेपालको यात्रामा साथ दिन प्रतिबद्ध छ ।” साथै उनले नियोटेरिकले सूचना प्रविधिको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै थप काम गर्नका लागि शुभकामना दिइन् ।
त्यस अवसरमा नेपाल खुला विश्वविद्यालय, स्कुल अफ आइटीका प्रमुख सहप्राध्यापक डा भोजराज घिमिरेले नेपालमा सूचना प्रविधिको यात्राबारेमा प्रस्तुतिकरण दिएका थिए ।
डा घिमिरेले नेपालमा सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना भए पनि यससम्बन्धी नीति कार्यान्वयनमा कमजोरी रहेको धारणा राखे । उनले भने, “नेपालमा इन्टरनेट र मोबाइल पहुँच तीव्र रूपमा विस्तार भइरहेको छ, तर यससम्बन्धी कतिपय नीति समयमै बने पनि कार्यान्वयन पक्ष कमजोर छ, अनुसन्धानमा निकै कम रकम खर्च भएको अवस्था छ ।”
घिमिरेले नेपालमा करिब ५०० भन्दा बढी सक्रिय टेक स्टार्टअप रहेको उल्लेख गर्दै यस क्षेत्रमा युवाको सहभागिता उत्साहजनक भएको बताए । डिजिटल साक्षरता कम हुनु, साइबर सुरक्षामा कमजोरी, आईसीटी नीतिको कमजोर कार्यान्वयन, अनुसन्धान तथा विकासमा न्यून लगानी र ‘ब्रेन ड्रेन’ जस्ता समस्या सूचना प्रविधिको क्षेत्रमा ठूलो चुनौती भएको उनको भनाइ थियो ।
डा घिमिरेले हालैको वर्षमा डिजिटल भुक्तानी प्रणालीमार्फत मासिक करिब ४५ मिलियन बराबरको कारोबार भइरहेको र तीन लाखभन्दा बढी व्यापारी डिजिटल कारोबारमा संलग्न भएको तथ्यांक प्रस्तुत गरे । उनले हालसम्म एक करोड ६५ लाख नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको र ७० प्रतिशतभन्दा बढी कम्पनी दर्ता अनलाइनमार्फत समेत उल्लेख गरे ।
उनले डिजिटल स्वास्थ्यको क्षेत्रमा ठूलो सम्भावना रहेको समेत उल्लेख गर्दै सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आजको आवश्यकता भएको बताए ।
नियोटेरिक नेपाल र नियोभेञ्चर कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय गोल्छाले नियोटेरिकले सूचना प्रविधिका क्षेत्रमा गरिरहेको कामबारे संक्षिप्त प्रस्तुतिकरण दिए । उनले नियोटेरिक नेपाल प्रविधिका क्षेत्रमा हार्डवेयर आपूर्तिसँगै क्लाउड कम्प्युटिङ, डाटा सेन्टर, साइबर सुरक्षा, सफ्टवेयर लाइसेन्सिङ जस्ता अत्याधुनिक प्रविधि समाधानमा पनि काम गर्दै आएको बताए ।
सन् २००४ मा स्थापना भएको नियोटेरिकले तत्कालीन समयमा डिस्ट्रिब्युसन बिजनेसका रुपमा काम गरेको थियो । सन् २००६ मा कम्प्युटर, सन् २००८ मा मोबाइल फोन र ल्यापटप बिक्री सुरु गरेको कम्पनीले सन् २००८ म लाइफस्टाइल स्टोर सुरु गरेको थियो । सन् २०१० मा इन्टरप्राइज व्यवसायमा हात हालेको कम्पनीले सन् २०१५ मा अनलाइन स्टोर, सन् २०१८ मा ब्रोडब्याड टेलिकम, सन् २०१९ मा सिसिटिभी, सन् २०२० मा कन्जुमर इलेक्ट्रोनिक्स र सन् २०२३ मा जिआइएस सफ्टवेयरमा काम सुरु गरेको थियो ।
सूचना प्रविधि क्षेत्रमा दुई दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै गोल्छाले कम्पनी अहिले नेपालको डिजिटल ट्रान्सफर्मेसनमा काम गरिरहेको बताए । उनले नेओटेरिकले नवप्रवर्तन, लगानी र प्रभावमा केन्द्रित भइ काम गरेको भनाइ राखे ।
गोल्छाले भने, “बीस वर्षअघि स्थापना भएको नियोटेरिक नेपाल आज ४० भन्दा बढी विश्वका प्रसिद्ध ब्रान्डका एक हजारभन्दा बढी उत्पादन नेपालमा उपलब्ध गराइरहेको छ, कम्पनीले मोबाइल, कम्प्युटर, सर्वरदेखि ठूलो स्तरका डाटा सेन्टर र सरकारी निकायका आईटी पूर्वाधार परियोजनामा काम गरेको छ ।” नेपालमा ८० प्रतिशतभन्दा बढी इन्टरनेट ट्राफिक नेओटेरिकले आपूर्ति गरेको प्रविधि संरचनामार्फत भइरहेको समेत उनको दाबी थियो ।
नेओटेरिकले हाल शिक्षा, फाइनान्स, होटलदेखि सरकारी र निजी क्षेत्रका ठूला परियोजनाका लागि काम गर्दै आएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत दूरदराजका गाउँमा कम्प्युटर पुर्याउने अभियानसमेत सञ्चालन गरेको छ । “हामी आपूर्तिकर्ताका रुपमा मात्रै सीमित छैनौँ, डिजिटल नेपालको भविष्य निर्माणमा पनि काम गरिरहेका छौँ”, गोल्छाले भने ।
कार्यक्रमका सहजकर्ता एमच्याम नेपालका कार्यकारी निर्देशक अमिरराज थापाले एमच्यामले स्थापनादेखि नै आर्थिक कूटनीतिमार्फत दुई देशबीचमा व्यापार अभिवृद्धिमा काम गर्दै आएको बताए । उनले भने, “एमच्यामले स्थापनादेखि नै दुर्ई देशबीचको व्यापार बढाउने, नेपालमा लगानी भित्र्याउने र नेपालमा लगानीमैत्री वातावरणका लागि पहल गर्दै आएको छ, यसप्रकारका कार्यक्रमले दुई देशबीचको व्यापार अभिवृद्धिमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।”
थापाले अमेरिकी राजदूतावासकी राजनीतिक तथा आर्थिक परामर्शदाता क्याथरिन एम लियीको संक्षिप्त परिचय गराउँदै नेपालको सूचना प्रविधिको क्षेत्रमा नेपाल र अमेरिकाबीचको सहकार्यको अपेक्षा व्यक्त गरे । हाल एमच्याममा विभिन्न १४ वटा क्षेत्रका ६१ वटा कम्पनी आबद्ध छन् ।

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

भारतका विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

प्रतिक्रिया