बुधबार ०४ भदौ, २०८२
Wednesday, August 20, 2025

ठमेलको आर्टस होटलले ४८ करोड नतिरेपछि लिलामीमा

काठमाडौं- पर्यटकीय क्षेत्र ठमेलको चाक्सीवारीमा १० वर्ष अगाडि भव्यरुपमा खुलेको होटल आर्टस् काठमाडौं लिलामीमा गएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४८ करोड रुपैयाँ नतिरेपछि होटल लिलामीमा गएको हो । गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ को फागुनदेखि सुरुवात गरेको ६० कोठाको उक्त होटलले बैंकको ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो ।

बैंकले न्यूनतम ४८ करोड १७ लाख रुपैयाँ ऋण असुलीका लागि उक्त होटल लिलामी गर्न सार्वजनिक सूचना निकालेको छ । होटल १० वर्ष अगाडि नै सञ्चालनमा आएको थियो । होटलमा त्यतिबेला ५० करोड रुपैयाँ लगानी भएको जानकारी दिएको थियो। ८ तालको उक्त होटलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ भने आकर्षक सुविधासहित खुलेको थियो।

भट्टले आफैंले २०६० सालमै किनेको जग्गामा होटल बनाएको भने पनि उनले बैंकको ऋण तिर्न नसकेका कारण होटल लिलामीमा गएको हो । ३४ वर्षदेखि पर्यटन व्यवसाय गरिरहेका भट्टको योजनाले फेल खाएका कारण होटल लिलामीमा गएको हो । बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा बनेको भवन बैंकले लिलाम गर्न लागेको हो।

भट्टकी श्रीमती लक्ष्मीको नामको एक रोपनी जग्गा बनेको भवनसहितको उपकरण पनि लिलामी हुने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बैंकले जग्गाको न्यूनतम् मूल्य ४८ करोड १७ लाख १३ हजार ९ सय रुपैयाँ तोकेको छ । बैँकलाई भट्टले तिर्नुपर्ने ओभरड्राफ्ट, १० प्रतिशत ब्याजदरमा पाएको कोभिड कर्जा र आवधिक कर्जाको रकम नतिरेपछि होटल लिलामी गरेर बैंकले ऋण असुल गर्न खोजेको हो ।

बैंकले भट्टलाई पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्न ३५ दिनको सूचना प्रकाशित गर्दा समेत कर्जा असुल हुन नसकेकोले उल्लेख गरेको छ । बैंकले होटलका सञ्चालक भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन भनेको छ ।

बैंकले भने अनुसारको कर्जा चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असुल गर्ने भएको छ । लिलाममार्फत बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैंले सकार गरि लिन सक्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने बैंकले जनाएको छ ।