अव्यवस्थित सडक निर्माणले संकटमा पाटीभञ्ज्याङ, पुरानो ऐतिहासिक बस्ती विस्थापनको जोखिम

काठमाडौँ- काठमाडौँ उपत्यका नजिकैको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाटीभञ्ज्याङ बस्ती अहिले ठूलो भू–क्षय र पहिरोको गम्भीर जोखिममा परेको छ। सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने यो क्षेत्र मध्य पहाडी लोकमार्ग निर्माणमा देखिएको लापरबाहीका कारण प्रत्यक्ष असरमा परेको स्थानीयवासीले गुनासो गरेका छन्।
स्थानीयको आरोप अनुसार रामेछापका सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री कान्छाराम तामाङको कन्ट्रक्सन कम्पनीमार्फत काम गर्ने ठेकेदारले सडक खन्ने क्रममा आवश्यक ग्याबियन पर्खाल वा संरक्षणका संरचना निर्माण नगरेकाले बस्ती उच्च जोखिममा परेको हो।
“सडक बनाउँदा सुरुवातीमा हामीले धेरैपटक बस्तीलाई सुरक्षित बनाउन आग्रह गरेका थियौं। तर ठेकेदारले ध्यान दिएनन्। अहिले त बस्ती छाड्नुपर्ने अवस्था आएको छ,” स्थानीय राजेन्द्र श्रेष्ठले दुःखेसो पोख्दै भने ।
पछिल्ला वर्षा र अव्यवस्थित सडक निर्माणका कारण बस्ती वरपर जमिन बग्न थालेको, घरमा चिरा पर्न थालेको र कतिपय जग खस्ने अवस्थामा पुगेको स्थानीय विष्णु बहादुर श्रेष्ठको भनाइ छ।
बस्तीको अवस्थाको प्रत्यक्ष अध्ययन गर्न मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानसहित भू–विज्ञ तथा इन्जिनियरहरूको टोली पाटीभञ्ज्याङ पुगेको थियो। निरीक्षणपछि टोलीले तत्काल बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ। “सडक बनाउन लापरबाही गर्ने अनि यसरी हामीलाई जोखिममा राख्ने रु यो कस्तो न्याय हो ?” स्थानीय महिला उमा श्रेष्ठले प्रश्न उठाइन्। विशेषज्ञहरूले निरन्तर वर्षा भएमा यहाँ ठूलो पहिरो खस्ने र सम्पूर्ण बस्ती विस्थापित हुने खतरा रहेको चेतावनी दिएका छन्।
समाजसेवी विदुर गिरीका अनुसार पाटीभञ्ज्याङ केवल एउटा बस्ती मात्र नभई काठमाडौं उपत्यकाको नजिकैको पुरानो धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको स्थल भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व हो। “यदि तत्काल संरक्षण पहल नभए बस्ती मात्र होइन, पुस्तौँसम्मको इतिहास र पहिचान नै हराउने खतरा बढ्दो छ,” उनले भने।

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प

तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

प्रतिक्रिया