सोमबार ०२ भदौ, २०८२
Monday, August 18, 2025

जलवायु परिवर्तनले निर्माण श्रमिक र आदिवासी जनजातिलाई सबैभन्दा बढी प्रभावित

काठमाडौँ- वन तथा वातावरण मन्त्रालयका सचिव नवराज पुडासैनीले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले श्रमिक र आदिवासी जनजातिलाई बढि असर परिरहेको  बताएका छन् ।  गृह श्रमिकका क्षेत्रमा काम गरिरहेका क्लास नेपालद्वारा राजधानीमा आयोजित “जलवायु परिवर्तनको प्रभाव, न्यायोचित रुपान्तरणको बाटो” विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

उनले बढ्दो तापक्रमले निर्माण क्षेत्र, कृषि क्षेत्रलगायत घरबाहिर दैनिक काम गरेर खानुपर्ने श्रमिक वर्ग र खोलानाला, वन क्षेत्र छेउमा बस्ने आदिवासी जनजाति वर्गले भारी वर्षात, पहिरोलगायतले घर, खेतीमा क्षति पुग्ने भएकोले तापक्रम वृद्धिको असर यि दुई वर्गलाई सबैभन्दा पहिले नोक्सान पुग्ने बताए । 

जलवायु परिवर्तनको असरबारे कार्यपत्र प्रस्तुत गर्दै सचिव पुडासैनीले श्रमिक वर्गले २४ देखि २६ डिग्री तापक्रम भएमात्र काम गर्ने क्षमता हुन्छ, हाल जलवायु परिवर्तनका कारण ३३ डिग्री वा त्यो भन्दा पनि बढि तापक्रम पुगिरहेको छ भने त्यस्तो गर्मीमा काम गर्दा कार्यक्षमतामा असर, स्वास्थ्यमा असर, छालाको क्यान्सरसम्म हुने जोखिम हुन्छ भने आदिवासी जनजाति पनि प्रकृतिको नजिक र प्रकृतिसँग एकाकार हुने जीवनशैली, जीविकोपार्जन गर्ने पद्धतीमा आधारित जीवन बाँच्ने कारणले उनीहरु जलवायु परिवर्तनका कारण बढेको तापक्रमबाट सिधै प्रभावित हुने वर्ग हुन्, भने ।

 तापक्रम बढ्ने क्रमलाई कुनै एक देशको  पहलमा घटाउन सकिदैन भन्दै उनले  रोजगारीका लागि  हरित उद्यमसिलतामा आधारित उद्योगहरुको स्थापना गर्नुपर्ने, वातावरणमैत्री नीति अवलम्बन गर्दै जलवायु परिवर्तनको जोखिममा रहेका सुमदाय वर्गहरुलाई राजनीतिक , सामाजिक, आर्थिक आयामबाट संरक्षण गर्दै जाने भन्ने  विश्वव्यापी घोषणापत्रका निर्णय कार्यान्वयनमा नीजि क्षेत्र र राज्यले पहल गर्नुपर्ने बताए । 

उनले जलवायु परिवर्तनको असर घटाउन विश्वभर भइरहेको छलफलको निष्कर्ष र विभिन्न देशले गरेका प्रतिवद्धताबारेमा  जानकारी दिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव प्रदिप कोइरालाले जलवायु परिवर्तनका असरले हरेक क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा मानिसले पनि त्यस्तो परिवर्तनलाई न्युनिकरणको उपायसहित रोजगारी, उद्यमको क्षेत्रमा नयाँ, नयाँ खोज र पहल गर्न आवश्यक रहेको बताए । 

उनले बढ्दो तामपक्रका कारण सबैभन्दा बढि श्रमिकलाई असर परेको छ तर विश्वमा परिवर्तन सधैं भइरहने प्रक्रिया हो, यसलाई आत्मसात गर्दै खेती, पर्यटनलगायत विविध क्षेत्रमा नयाँ सम्भावना खोज्नुपर्ने वाध्यता रहेको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनका कारण श्रमिक क्षेत्रमा परेको असरबारे ट्रेड युनियनमा छलफल, श्रमिकलाई प्रशिक्षण तालिम दिएर श्रमको नयाँ सम्भावनाबारे अन्तरक्रिया गर्ने गरेको बताए । 

 अभियन्ता अमिता थापामगरले जलवायु परिवर्तनका कारण विश्व प्रभावित छन्, त्यसमध्ये  श्रमिक वर्गलाई परेको असरबारे चिन्ता पनि सबैलाई छ तर ठोस, योजना, कार्यक्रम भने कसैले पनि नबनाएको बताइन्। 

क्लास नेपालका कोषाध्यक्ष गोमा पाण्डेले भनिन्,“नेपालमा ९० लाख भन्दा बढि अनौपचारिक क्षेत्रमा श्रमिक छन्, जो गृहश्रमिक, भौतिक निर्माण, कृषि, यातायातसहित विविध क्षेत्रमा संलग्न छन्, उनीहरुले विहान कमाएर साँझ खाने स्थिती र खुला आकामुनि, वा सुविधाविनाका जस्ताका टहराहरुमा रहेर काम गर्छन् भने यस क्षेत्रका लागि सोचेर सरकारी नीति र योजना बनाउन आवश्यक छ ।”