शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

यस्तो देखियो ७ सय वर्ष पुरानो कोइम्ब्रा विश्वविद्यालय (फोटो फिचर)

कोइम्ब्रा पोर्तुगल- पोर्तुगलको ऐतिहासिक सहर कोइम्ब्रामाको हृदयमा अवस्थित कोइम्ब्रा विश्वविद्यालय विश्वकै पुराना विश्वविद्यालयमध्ये एक हो । सन १२९० मा स्थापना भएको यो विश्वविद्यालयले सात सयभन्दा बढी वर्षदेखि शिक्षा, अनुसन्धान र संस्कृतिको समृद्ध परम्परा बोकेको छ । यसको प्राचीन क्याम्पस युनेस्को विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

कोइम्ब्रा विश्वविद्यालयको प्रवेशद्वारमा पुग्नेबित्तिकै भेटिने 'पोर्टा फेरिया' ले इतिहासमा प्रवेश गराएको अनुभूति दिलाउँछ । यहाँका पत्थरका भवनहरू, बाङ्गा गल्लीहरू र रोमनकालीन संरचनाले समयको यात्रा गराउँछन् । सबैभन्दा चर्चित स्थलमध्ये जोआनिना पुस्तकालय हो, जसको १७ औँ शताब्दीको बारोक शैलीको सजावट र सुनौलो काठका पुस्तक र्याकहरूले पर्यटकलाई मन्त्रमुग्ध पार्छ । यहाँ दुर्लभ र ऐतिहासिक पुस्तकहरूको विशाल संग्रह रहेको छ ।

विश्वविद्यालयको टावरबाट सहर र मोन्डेगो नदीको रमणीय दृश्य देखिन्छ । परम्परागत पोर्तुगाली विद्यार्थी पोशाक (काला केप र सूट) लगाएका विद्यार्थीहरू यहाँको विशेष दृश्य हुन् । शैक्षिक मात्र नभई सांस्कृतिक र सामाजिक गतिविधिका लागि पनि यो विश्वविद्यालय महत्वपूर्ण केन्द्र हो । कोइम्ब्रा विश्वविद्यालयको प्रत्येक कोणमा इतिहास, वास्तुकला र संस्कृतिको कथा लुकेको छ ।

पोर्तुगाली तथ्याङ्अनुसार २०२५ मा विश्वविद्यालयमा करिब ३० हजार ३०८ विद्यार्थीहरू छन् । यद्यपि, टप युनिभर्सिटीका अनुसार यहाँ २१ हजार ९८९ विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५० प्रतिशत स्नातक र ५० प्रतिशत स्नातकोत्तर विद्यार्थीहरू छन् । साथै, करिब २ हजार ९४९ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि यहाँ अध्ययन गरिरहेका छन् । - प्रसन्न ढुंगाना