शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणभन्दा पहिला चीन जाने भएका छन् । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेका हुन् ।

उक्त सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा हुँदैछ । उक्त सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो ।

क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्ने उद्देश्यले सन्‌ २००१ मा स्थापना भएको एससीओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, कीर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देशहरू छन् ।

एसओसीमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन् ।

उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुँदैछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त कार्यक्रम उद्‌घाटन गर्नेछन् ।  

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् ।