बिहीबार २९ साउन, २०८२
Thursday, August 14, 2025

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

चितवन- जिल्लामा पशुचौपायमा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरू गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो । बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ । प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

जिल्लामा दुई हजार डोज खोप बाँकी छ । अभियानका लागि थप १० हजार डोज खोप प्रदेशबाट आउँदै छ । उनले भने “अहिले १२ हजार डोज खोप लगाउँदै छाँै ।” सातै स्थानीय तहमा गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुलाई खोप नलगाइने उहाँले जानकारी दिनुभयो । स्थानीइ तहमा खोपकर्ता नियुक्त गरी पठाउने तयारी गरिएको छ । 
 
जिल्लामा हालसम्म ६१ हजार ७९९ पशुमा लम्पि स्किनविरुद्ध खोप लगाइ सकिएको छ । भरतपुर महानगरपालिकामा १४ हजार ८९६, खैरहनी नगरपालिकामा आठ हजार २००, राप्ती नगरपालिकामा १४ हजार ५००, रत्ननगरमा आठ हजार ६०० पशुमा खोप लगाइएको छ ।माडी नगरपालिकामा दुई हजार ८००, कालिका नगरपालिकामा नौ हजार ९७८, इच्छाकामना गाउँपालिकामा दुई हजार ८२५ पशु चौपायमा लम्पि स्किनविरुद्धको खोप लगाइसकिएको छ । उनका अनुसार जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्क अनुसार हालसम्म ४५ गाईगोरु लम्पि स्किनका कारण मरिसकेका छन् ।
 
गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले जानकारी दिए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्या‍ल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।
 
सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाटमुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताए ।