बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

विपक्षी दलहरूले अस्थिरताको पक्षपोषण गरे: प्रधानमन्त्री ‌‌‌ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे । लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के ग¥यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताए ।

भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैं माग्ने उनले बताए । भिजिट भिसामा गएर दुई-दुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत विदेश जाने सवै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए ।यसका पछाडि मुलुक र नागरिकको हित नभइ इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको बिकास र समृद्धि लगाएतका क्षेत्रका भएका कामकारवाहीका बारेमा जानकारी गराए । वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ । उनले बहुविवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सहि नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गरे ।