दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गएको पहिरोले ११ दिनदेखि सडक अवरूद्ध छ । सडक अवरूद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन ।
सडक नखुल्दा व्यवसायी मात्रै होइनन् आवतजावत गर्न स्थानीयलाई पनि समस्या भएको छ । सडक खुलाउन नसक्नुमा व्यवसायीहरूले संघीय सरकारलाई दोष दिएका छन् ।
चीनमा आएको बाढीले रसुवाको केरुङ नाका बन्द भएपछि अधिकांश व्यवसायीहरू तातोपानी नाकाबाट सामान ल्याउन चीनमा कन्टेनर लोड गरेर राखिसकेको थियो ।
सडक अवरूद्ध करिब ६ सय कन्टेनर नेपाल आउन सकेका छैन । नेपाल भित्रिएका कन्टेनर पनि पहिरोले अलपत्र अवस्थामा छन् । अहिले नेपाल भित्रिएका फलफूल र तरकारी बोकेका कन्टेनरको सामान व्यवसायीले भरियाबाट बोकेर पहिरो कटाउन थालेका छन् ।
इकोमा लेदो बगेर सडक खुलाउन सकिएको छैन । भोटेकोशी गाउँपालिका २ का वडाध्यक्ष कुमार श्रेष्ठले वस्ती जोगाएर सडक सञ्चालन गर्नुपर्ने बताए । 'हाम्रो पहिलो प्राथमिकता पहिरोमाथि रहेको वस्ती जोगाउनु हो' वडाध्यक्ष श्रेष्ठले भने 'त्यसपछि ट्रयाक मात्र भए पनि खोलेर सडक सञ्चालन गर्नु हो ।'
'सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिएन' नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने 'पहिरो पन्छाउन एउटा टिपर र स्काइभेटरले मात्रै हुँदैन् । संघीय सरकारले नाका खोल्नुपर्छ भनेर लाग्नुपर्यो ।'
सडक निर्माण नहुँदा नजिकिँदै गरेको चार्डपर्वको लागि समयमा सामान नआउँदा बजार महङ्गो हुने निश्चित जस्तै छ ।
आफूहरूले सडक खुलाउनका लागि संघीय अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री र भन्सार विभाग प्रमुखलाई भेटेर आग्रह गरेको नेपाल हिमालय वाणिज्य व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले बताए । 'रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यावसाय गर्न सुझाए पनि तातोपानीमा सडकको थप समस्या आइपरेर झनै समस्या भइरहेको छ' महासचिव पराजुलीले भने ।
राज्यले सडक खुलाउन चासो नदिँदा आफूहरू मारमा परेको शिल्क ट्रान्सपोर्टको निर्देशक विजय शेर्पाले बताए । 'राज्यले सडक खुलाउन चासो नै दिएन । हामी निकै मारमा परेका छौँ । संघीय सरकारले ध्यान दिएन् । हाम्रो समस्या कसले सुन्ने ?' शेर्पाले भने ।
चीनबाट फलफूलको व्यवसाय गर्दै आएका व्यवसायी शारदा पराजुलीले सडक नखुल्दा आफुहरू साह्रै समस्यामा परेको बताए । 'हाम्रो फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्किएका छन् । कतिपय नेपाल नै आइसकेको छ । अब कुहिने स्थिति छ' पराजुलीले भने । व्यवसायीले कन्टेनरबाट फलफूल बोकाएर पहिरो पार गर्न थालेका छन् । स्याउ,आँप,अङ्गुर, लसुन, प्याजलगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डमा राखिएको छ ।
सडक खुलाउन आफूहरूले मेहनत गर्दा पनि अझै लेदो बगेर खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले बताए । 'पहिले पहरो गएदेखि नै सडक खुलाउन प्रयास गरिहेका छौँ र सकिरहेका छैनौं' श्रेष्ठले भने ।
आपतकालिन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए । 'संघीय सरकारले खासै चासो दखाएन । आपतकालिन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्थ्यो' अध्यक्ष बस्नेतले भने 'त्यति पनि राज्यले नगर्दा व्यवसायी निकै मारमा परका छन् ।'
त्यति चासो देखाएको छैन । विपद्मा गर्ने काम राज्यले गरेन । बिम तेर्स्याएर बाटो खुलाउन सकिने अवस्था थियो त्यो पनि राज्यले गरेन' बस्नेतले भने 'नाका खुलेन भने पारी लोड भएर बसेका स्याउ र लसुन कुहिन्छ । यसले व्यापारीहरूलाई करोडौँ घाटा लाग्छ ।'
दसैंका सामान जति सबै अड्किएका छन् । लत्ता कपडा पनि लोड भएर बसको छ, तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन नसकिएको उनले बताए । करिब ५ सयदेखि ६ सय वटा कन्टेनर चीन रोकिएका छन् । एक कन्टेनरको भाडा दैनिक १० रूपैयाँ चिनियाँ व्यवसायी संघलाई तिरेर राखिएको उनले बताए । 'चीनको खासा, न्यालम र केरूङको सामान सबै नेपाली कन्टेनरमा लोड भइसकेका छन्' उनले भने ' लासामा भएको कन्टेनर भने लोड भएको छैन ।'
भिडियो/फोटो : निरोज चौलागाईं

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया