बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

काठमाडौँ- दक्षिण कोरियाका लगानीकर्ताहरू नेपालको बजार बुझ्न काठमाडौँ आएका छन् । काठमाडौँ आएका कोरियन लगानीकर्ताहरूले नेपालका उद्योग व्यवसायीहरूसँग छलफल सुरू गरेका छन् ।

मेलबर्न कोरियाका अध्यक्ष याङ चाङ-हुनलगायत कोरियन लगानीकर्ताले मंगलबार उद्योगपति राजेन्द्र खेतानसँग छलफल गरेका छन् । उनीहरूबीच अनुभव शेयरिङ भएको छलफलमा सहभागी अर्का व्यवसायी दिनेश पौडेलले इकागजलाई जानकारी दिए । उनका अनुसार अनुभव शेयरिङ र मार्गदर्शनले नेपालमा लगानी बढाई रोजगार सिर्जना गरि अर्थतन्त्रमा योगदान दिने अभियानमा अझ हौसला थप भएको छ ।

हुनले बीआसी ग्रुपको अध्यक्ष, HDC–Shilla Duty Free का CEO, Hyundai I-Park Mall का CEO, Pulmuone Orga Whole Foods का CEO, तथा Hyundai Department Group Strategy Planning Team का प्रमुख जस्ता महत्वपूर्ण पदहरूमा सफलता पूर्वक नेतृत्व प्रदान गरिसकेका छन् ।

उनीहरू नेपाली बजार बुझ्न आएको गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष विनोद कुँवरले बताए । 'उहाँहरूले पहिला यहाँको बजार बुझ्नु हुनेछ र लगानीको वातावरण बुझ्नु हुनेछ' कुँवरले भने ।