बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

चुरे संरक्षणमा बेवास्ता, मधेसमा सुख्खा र संकटको छायाँ

काठमाडौँ- यस वर्ष पर्याप्त वर्षा नहुँदा तराई तथा मधेस प्रदेशमा सुख्खा खडेरी लाग्यो । केही दिनको वर्षाले भने त्यो सुख्खालाई राहत प्रदान गरिसकेको छ । वर्षा र सिँचाइ अभावका कारण तराईमा समयमा रोपाइँ हुन सकेन । पानी अभावले खेतमा धाँजा फाट्यो । खोलानाला सुके । समयमा सिँचाइ हुन पाएन ।  भूमिगत जलस्रोत सुकेर खानेपानीको अभावसमेत भयो । जहाँ किसान खेतबारीमा पुगे ।

समयमा किसानले खेती गर्न पाएनन् । रोपेका धानका गजले पानी पाएनन् । किसानले लगाएका खेतमा धाँजा फाट्यो । धाँजा फाटेको खेतमा पुगेर किसान रोपाइ गरेको गाँभामा पानी समेत हाले । लामो समयसम्म खडेरी नहटेपछि मधेश प्रदेशलाई सरकारले सुख्खा क्षेत्र घोषणा गर्‍यो । मधेस प्रदेशमा खडेरी देखा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको अवलोकन गरेका थिए । सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो। तत्कालै पाँच सय डिप बोरिङ बनाउन निर्देशन समेत दिए ।

विशेष गरेर  चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदा  तराई-मधेशमा वातावरणीय समस्याहरू देखा परेको छ । यस वर्षको सोही संकेत देखा परिसकेकाले लामो समयसम्म पानी नपर्दा तराईका फाँटहरू सुकेका छन् । पानीको स्रोतहरु समेत सुक्नु। बर्सेनि बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो-माटो थुपार्ने तथा गाउँवस्तीहरु समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् ।

पोखरी र ड्याम बनाउँदा मधेस सुख्खाबाट बच्छ

यस वर्ष भने तराईमा लागेको खडेरीले चुरे भावरको थप उपादेयता बढाएको सहजै अनुमान लगाउन सकिन्छ । चुरेलाई संरक्षण गर्न ठूला-ठूला ड्याम र ताल बनाएर चुरेको माटो संरक्षण गर्नुपर्ने राष्ट्रपति चुरे-तराई संरक्षण विकास समितिकी प्रवक्ता कमला ओली सिवाकोटी बताउँछिन् ।

समितिले विभिन्न कालखण्ड चुरे संरक्षण गर्न पोखरी बनाएको उनले जानकारी दिइन् । चुरेको भावरलाई थुनेर वा पोखरी बनाएर संरक्षण गर्न सकिने उनको भनाइ छ । ‘चुरेलाई मात्र संरक्षण गर्दा तराईको भागलाई बाढी तथा सुख्खा हुनबाट बचाउन सकिन्छ,’ सिवाकोटीले भनिन्’, मुख्य कुरा खडेरी लाग्न नदिन तराईमा तटबन्ध बनाएर पानीको संरक्षण गर्न सकिन्छ ।‘

चुरे संरक्षण गर्न सक्दा जमिन तलको पानीलाई बचाउन सकिने सिवाकोटीको भनाइ छ । बोरिङ गर्दा पनि सहजै पानी आउने गरेको उनले उदाहरण बताइन् । ‘चुरेलाई संरक्षण गर्ने भनेको माथिल्लो भेगमा ड्याम बनाउने र पोखरी बनाउनु हो,’ उनले उल्लेख गरिन्,’ पानीको सतह घट्न नदिने मुख्य उपाय भनेको तराईमा चुरे क्षेत्रको संरक्षण गर्नु हो ।‘

डिप बोरिङ गर्नसाथ जमिनको पानी नसकिने तर चुरे संरक्षणमा भने उत्तिकै ध्यान दिनुपर्ने उनले बताइन् । चुरे संरक्षणमा पर्याप्त रुपमा सरोकारवाला निकायको ध्यान नगएको भने उनले स्वीकारिन् । उनी भन्छिन्,’ बजेट पर्याप्त हुन्न । एउटा जिल्लाको आयोजनालाई नपुग्ने बजेट हुन्छ । तराईका जिल्लाका सांसदहरूले बजेट माग गर्नु हुन्छ । योजना लागत पुग्दैन ।‘

उनका अनुसार डेढ अर्ब रुपैयाँसम्म पर्ने गरेको छ । बुटवल र सुदुरपश्चिममा आयोजनाहरू निर्माण भइरहेका छन् । मास्टर प्लान बनाएर काम गर्न पर्ने भए पनि सोचे अनुरुप गर्न नसकिएकोमा उनले दुःखेसो पोखिन् ।

जलवायु परिवर्तनमा मानव बस्ती चुनौती बन्दै

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मधेसले खडेरीको सामना गर्नुपर्ने कारण जलवायु परिवर्तनको असर हो । नेपालमा पछिल्लो समय केही ठाउँमा पानी धेरै पर्ने र नपर्ने अवस्था बनिरहेको छ । समुद्रको तापक्रम स्थिर बनेर समयमा पानी पर्न नसकेको उप्रेतीको भनाइ छ । नेपालमा पानी पार्ने सागर दुई वटा रहेको उनले जानकारी दिए । अरब सागर र हिन्द महासागरको वाष्पयुक्त वाफले नेपालमा वर्षा हुने गरेको उनको बुझाइ छ ।

मधेसको सम्बन्ध चुरेसँग रहने भएकाले एक दशकमा राष्ट्रपति चुरे-तराई संरक्षण विकास समितिले विभिन्न कार्यक्रम ल्याएर खडेरी हुनबाट रोक्न कदम चाल्नुपर्ने उनले बताए । ‘समितिले के कस्ता प्रगति हासिल गरे त्यसको अध्ययन हुनुपर्छ,’ उनले भने,’ कुन उदेश्यले स्थापना गरेको हो । त्यसको समिक्षा गर्ने बेला आएको छ । चुरेमा मानव बस्ती बस्नु पनि अहिले खडेरी आउनुको मुख्य कारण मान्न सकिन्छ ।‘

पहाडबाट बसाइसराई गरी चुरेमा बसोबास बढेकाले पानीको स्रोत घटेको हुन सक्ने उप्रेती बताउँछन् । चुरेको फेदीलाई पर्यावरणीय दृष्टिकोण नहेर्दा र आर्थिक गतिविधिलाई मात्र प्रोत्साहन गर्दा अहिलेको अवस्था आएको हुन सक्ने उनले उल्लेख गरे । ‘सरकारले ठोस कदम ल्याएर बस्ती रहेका ठाउँमा वाटर पम्प र पानीको रिचार्च हुने व्यवस्था मिलाउनु पर्छ,’ उनले सुनाए,’ एकीकृत बस्ती बसाले र पानीको पुनःप्रयोग कसरी गर्न सकिन्छ त्यसलाई प्राथमिकतामा राख्नुपर्छ ।‘

चुरे अतिक्रमण रोक्न सरकारको भरपर्दो रणनीति आवश्यक

नेपाल वातावरण पत्रकार समूह (नेफेज)की पूर्व अध्यक्ष रोशनी अधिकारीले जलवायु परिवर्तन र तापक्रम वृद्धिले मधेसमा सुख्खा निम्त्याएको बताइन् । जलवायु परिवर्तनलाई रोक्न नसके पनि त्यसबाट पर्ने असर न्यूनीकरण गर्न सक्ने उनको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट नीति बनाइ जलवायु परिवर्तनबाट पर्ने असरको रोकथाम गर्न सकिने अधिकारीले बताइन् । ‘मुख्य कुरा जलवायु परिवर्तनले निम्त्याउने असरहरू के-के हुन सक्छन् त्यसको अध्ययन हुनुपर्छ,’ उनी भन्छिन्,’ राज्यस्तरबाट प्रभावकारी रणनीति बनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।‘

चुरे अतिक्रमण बढेकाले त्यसको रोकथाम पहिलो सर्त रहेको अधिकारीले बताइन् । तराई क्षेत्रलाई सुख्खाबाट बचाउन चुरे क्षेत्रको संरक्षण गर्नलाई उनले सुझाव दिइन् । पानीको स्रोत पहिचान गरेर त्यसलाई संरक्षण गर्ने र वृक्षरोपणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरिन् ।