बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

फ्यूचरामा २०२५: प्रविधिमैत्री भविष्यतर्फ नेपाली युवाको अग्रसरता

तीव्र प्रविधि विकासको युगमा इस्लिङ्टन कलेज र आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा तीन दिने प्रविधि प्रदर्शनी 'फ्यूचरामा २०२५' आयोजना भएको छ । साउन २२ देखि कलेज परिसरमा आयोजित उक्त प्रदर्शनीको उद्देश्य नयाँ पुस्तालाई अत्याधुनिक नवप्रवर्तनसँग प्रत्यक्ष परिचय गराउनु र व्यावहारिक अनुभव प्रदान गर्नु हो । 

प्रदर्शनीमा नेपाली युवाको सिर्जनशीलता र व्यावहारिक क्षमतालाई उजागर गर्ने विभिन्न इनोभेटिभ परियोजनाहरू प्रस्तुत गरिएका छन् ।

प्रदर्शनीमा स्वचालित सवारी साधनका मोडेल, कृषक सहयोगी फार्म बोट, टेलिप्रिजेन्स रोबोट, इन्टरेक्टिभ एनिमेसन अनुभवका साथै साइबर सुरक्षा देखि कृत्रिम बौद्धिकता (AI) सम्मका विषयमा अन्तरक्रियात्मक क्रियाकलापले आगन्तुकहरूलाई प्रत्यक्ष सिकाइको अवसर प्रदान गरेको छ ।

कार्यक्रम संयोजक अनिषा आचार्य भन्छिन्, 'फ्यूचरामा युवा मस्तिष्कलाई अनुभवात्मक सिकाइको प्लेटफर्म दिन डिजाइन गरिएको हो । यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै दीगो विकास र उद्यमशील सोचलाई पनि प्रोत्साहित गरेको छ ।'

आयोजकहरूले कार्यक्रम आगामी वर्ष नेपालका अन्य प्रमुख शहरहरूमा विस्तार गर्ने र प्रविधिमा युवाको सहभागिता बढाउँदै राष्ट्रिय स्तरमा नवप्रवर्तनको भावना प्रवर्द्धन गर्ने योजना रहेको बताएका छन् ।