मेरो नाममा सुसाइड नोट लेखेर मर्छौँ भनेपछि...

कहिलेकाहीँ हाँसो लुकाउनुपर्छ, कहिलेकाहीँ आँसु । तर कहिल्यै हार मान्नु हुँदैन । यो मेरो कथा हो-त्रिशुल बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धकको रूपमा मैले भोगेको संकट र त्यसलाई जितेर आत्मसम्मान जोगाएको अनुभव । यो लेखमार्फत म मेरो व्यथा र विजयको कथा उजागर गर्न चाहन्छु ।
संकटको घडी र सहकर्मीको व्यवहार
संकटको समय थियो । सहकारीमा बचतकर्ताहरूको रकम जोखिममा थियो । सहकर्मी भनाउँदाहरूको व्यवहारले लाजमर्दो अवस्था सिर्जना भएको थियो । कोही पन्छिन्थे, कोही आलोचना गर्थे । म भने क्याबिनमा बसेर उनीहरूको आँखामा आँखा जुधाउँथे । मैले उनीहरूलाई भन्थेँ, 'नआत्तिनुस्, बचत रकम फिर्ता गर्न ढिलो होला, तर डुब्दैन ।'
तर बचतकर्ताहरूको आक्रोश कम थिएन । कतिपयले टेबल ठोके, कतिपयले चिच्याए । ती क्षणहरूमा म बाथरुममा गएर चुपचाप आँसु पुछ्थेँ । तर त्यही आँखाले फेरि कम्प्युटरको स्क्रिनतर्फ हेरिरहन्थे । किनभने मलाई थाहा थियो-मैले नियमसंगत काम गरेकी छु, संस्था र बचतकर्ताको रकम जोगिन्छ, म डराउनु पर्दैन ।
ऋण असुलीको चुनौती
ऋणीलाई फोन गरेर सम्झाउनु, दबाब होइन, विश्वासको शब्दमा ऋण उठाउनु मेरो दैनिकी बन्यो । जब कोही निराश भएर प्रश्न गर्थे ! मैले भन्थेँ- 'यो सहकारी तपाईंको हो, स्थानीयको हो । यो भाग्दैन । हामी छौँ, तपाईं ढुक्क हुनुहोस् ।'
तर यो त्यति सजिलो थिएन । कसैले पत्रकार लिएर आए, कसैले वडाध्यक्ष, कसैले ऋण तिर्नु पर्दैन भन्ने टिमको नाम लिएर २० लाख तिर्न नपर्ने धम्की दिए । असुलीमा जाँदा कोही ऋणी रिसाउँथे, कोही ढोका बन्द गर्थे । केहीले त यस्तोसम्म भने 'हामी तपाईंको नाममा सुसाइड नोट लेखेर मर्छौँ !' त्यो धम्की थिएन, कायरता थियो । तर म चुपचाप उभिरहेँ, किनभने मैले नियमअनुसार सम्झाएकी थिएँ, डर देखाएर होइन ।
अफवाह र निष्ठाको परीक्षा
कतिपयले त यस्तो पनि भने 'तिमी त उपमेयरको साथले जोगियौ, नत्र हत्कडी लाग्थ्यो ।' तर त्यो सत्य थिएन । त्यो त मेरो निष्ठामाथि प्रश्न उठाउने शत्रुहरूले फैलाएको भ्रम थियो । उपमेयरसँग मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन, न त उहाँले कानुन बदल्न सक्थे । यदि मैले गल्ती गरेको भए, कानुनले मलाई कहिल्यै छाड्ने थिएन ।
संकटको सामना र समाधान
जब सबै टाढिँदै थिए, मैले प्रशासन, स्थानीय निकाय र सामाजिक सञ्जाललाई सक्रिय बनाएँ । मैले एकल निर्णय, विश्वास र सहनशीलताले सहकारीलाई सम्हालेँ । बिस्तारै केही बचतकर्ताले बुझ्न थाले, 'सरिता नभएको भए यो संस्था डुब्थ्यो होला ।' कोही लज्जित भए, कोहीले माफी मागे । तर म अघि बढिसकेकी थिएँ-बिना प्रचार, बिना सिकायत ।
निष्कर्ष
यो कथा केवल मेरो होइन, यो हरेक त्यस्ता व्यक्तिको कथा हो, जसले संकटमा पनि हार मानेनन् । मैले मेरो आत्मसम्मान र संस्थाको विश्वास जोगाएँ । यो अनुभवले मलाई सिकायो-निष्ठा र धैर्यताले जस्तोसुकै संकट पनि जित्न सकिन्छ ।
प्रतिक्रिया