बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

चन्द्रपुर (रौतहट)- चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।

मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिए । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुकाइछिपाई ल्याउँदै गरेको फेनारगन ११० थान, डाइजापाम ४७ थान, बुप्रेनुफिन एक सय १० थान र कोरलेक्स ६३ थानसहित उनलाई पक्राउ गरिएको हो ।